काठमाडौँ, पुस २१ : कांग्रेस संस्थापन पक्षले नियमित महाधिवेशनका लागि यसअघि निर्धारित २७–२९ पुसको कार्यतालिका संशोधन गरी २८–३१ वैशाख २०८३ मा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गराइसकेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने २७–२८ पुसमा विशेष महाधिवेशन आह्वान गर्ने तयारीमा छन् । उनीहरू जेन–जी आन्दोलनको मर्मलाई समेत ख्याल गर्दै पार्टी नेतृत्व र नीति बदलेर मात्र निर्वाचनमा जानुपर्ने पक्षमा छन् । संस्थापन र कोइराला पक्ष भने सभापति शेरबहादुर देउवाकै नेतृत्वमा निर्वाचनमा जान तयार देखिएका छन् । यी दुई ध्रुवबीचको शक्ति संघर्षले पार्टीलाई कतातिर लैजान्छ भन्ने विषय कांग्रेस नेता–कार्यकर्ताका लागि विशेष चासोमा छ । यिनै सन्दर्भमा कांग्रेस पूर्वसांसद तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :
तपाईं गगन थापालाई कसरी चिन्नुहुन्छ ?
उहाँ जनताको आवाज बोल्ने नेता हुनुहुन्छ । उहाँका केही विशेष गुण छन् । पहिलो, उहाँ एकदमै राम्रो कम्युनिकेटर हुनुहुन्छ । जटिल विषय पनि सामान्य मानिसले बुझ्ने गरी प्रस्तुत गर्न सक्नुहुन्छ । दोस्रो, उहाँ अध्ययन गरेर बोल्नुहुन्छ, हल्का रूपमा कुरा राख्नु हुन्न । तेस्रो, उहाँ संगठनबाटै हुर्किनुभएको हो, विद्यार्थी राजनीतिदेखि संगठनात्मक यात्राबाट आउनुभएको हो । चौथो, ‘मास लिडर’ हुनुहुन्छ । निर्वाचनका बेला उहाँलाई देशभर बोलाउन खोजिन्छ किनकि जनतासँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने क्षमता उहाँमा छ ।
गगन थापाले पहिलो संविधानसभादेखि नै पार्टीभित्र फरक मुद्दा बोकेको देखिन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मुद्दामा गगन थापा, नरहरि आचार्य र तपाईंहरू सँगै हुनुहुन्थ्यो । अहिले फर्केर हेर्दा पार्टीको मूल नीतिविपरीत थापाले उठाएका मुद्दाहरू कति सफल भएजस्तो लाग्छ ?
पहिलो संविधानसभाका बेला प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत सुरु भएको थियो । कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने विषयमा मेरो घरमै चार–पाँच पटकसम्म बैठक पनि भएको थियो । त्यो विषय मलाई नयाँ लागिरहेको थियो तर पछि मैले यसबाट आफूलाई अलग गरें किनभने ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ भनेर नाम दिइए पनि यसले अन्ततः राष्ट्रपतीय प्रणालीतर्फ लैजान्छ भन्ने महसुस भयो । मैले नरहरिजीलाई स्पष्ट रूपमा भनें, ‘म अब यो मान्दिनँ ।’ प्रत्यक्ष कार्यकारीको कुरा बेग्लै कुरा भयो । तर गगनले उठाएका धेरै मुद्दा कालान्तरमा पार्टीका मूल नीति बनेका छन् ।
विशेष महाधिवेशनको मुद्दाले महामन्त्री गगन थापा राजनीतिक जीवनकै अप्ठ्यारो मोडमा देखिनुभएको छ, तपाईंले यसलाई कसरी लिनुभएको छ ?
विशेष महाधिवेशनबारे धेरै भ्रम फैलाइएको छ । गगन थापाको व्यक्तिगत माग होइन यो, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग हो । त्यस मागको सम्मान हुनुपर्छ भनेर गगनले समर्थन गर्नुभएको हो । विधि–विधानको सम्मान गर्नु गलत होइन ।
पार्टीले नस्विकारेको अवस्थामा महामन्त्रीद्वयले बोलाउने विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिमसमेत बढाएको भनिन्छ नि ?
राजनीतिमा कहिलेकाहीँ परिस्थितिले नै मान्छेलाई इतिहास बनाउने मोडमा पुर्याउँछ । अहिले गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरू त्यही मोडमा उभिनुभएको छ । कांग्रेसलाई माया गर्ने ठूलो जमातले यस कदमलाई समर्थन गरिरहेको छ, त्यसैले उहाँहरू एक्लो पर्नु हुन्न । जोखिम भए पनि यो ऐतिहासिक क्षण हो ।

तर दुई महामन्त्रीले आह्वान गर्ने विशेष महाधिवेशन कानुनी रूपमा वैध हुँदैन, केन्द्रीय कार्यसमितिको निर्णयबाट बोलाउनुपर्छ भन्ने तर्क संस्थापन पक्षको छ नि ?
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसँगै कांग्रेसमा विशेष महाधिवेशन अनिवार्य हुने अवस्था छ । ४० प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर पुगेपछि विशेष महाधिवेशनको माग सभापति वा महामन्त्रीको तहभन्दा माथि पुग्छ । यस्तो अवस्थामा जसले आह्वान गरे पनि महाधिवेशन वैधानिक हुन्छ । महामन्त्रीहरू प्रशासनिक टुल मात्र हुन् । यो अधिकार प्रतिनिधिहरूको हो ।
तर संस्थागत निर्णयबिनाको भेलामा जान नहुने भनेर संस्थापन पक्षले प्रतिनिधिहरूलाई रोक्न खोजेको छ नि ?
विशेष महाधिवेशन रोक्न संस्थापन पक्षले अवरोध गर्न, विज्ञप्ति निकाल्न वा विभिन्न बहाना बनाउन सक्छ । तर त्यसले वैधानिकतालाई छेक्न सक्दैन । कसैले नबोलाए पनि प्रतिनिधिहरू स्वयं भेला भएर विशेष महाधिवेशन सम्पन्न गर्न सक्छन् । विधान पालना गर्न पनि विशेष महाधिवेशन बोलाउनैपर्छ । कसले बोलायो भन्ने होइन, ४० प्रतिशत प्रतिनिधिको अधिकारको कुरा हो । महामन्त्रीहरूले बोलाउँदा वैधानिक नहुने कुरै छैन ।
आफैंले उठाएको मुद्दा स्थापित हुँदा पनि जनमत गगन थापाको विपक्षमा रहेको जस्तो देखियो । सहकारी मुद्दामा पनि त्यस्तै देखियो । यसलाई कसरी लिनुहुन्छ ?
सहकारीको मुद्दा उठाउनु पनि सही थियो । सहकारी आज देशको गम्भीर समस्या हो, हिजो पनि थियो, आज पनि छ । भोलि पनि रहन्छ । मुद्दा उठाउनेलाई आक्रमण हुनु पनि स्वाभाविक मान्छु । किनकि त्यसले धेरैको स्वार्थमा चोट पुर्याउँछ । तर मुद्दा गलत भएको छैन ।
केपी शर्मा ओली नेतृत्वको सरकारका पाला उहाँ उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्य भएर बस्नुभयो तर त्यही सरकारको सार्वजनिक रूपमा आलोचना पनि गर्नुभयो । कहिलेकाहीँ यस्तो विरोधाभासको राजनीति पनि उहाँमा देखिन्छ नि ?
कहिलेकाहीँ राजनीतिक संयन्त्रमा बसेर अपेक्षित परिणाम निकाल्न नसकिएला, त्यो अक्षमता हुन सक्छ तर त्यसले नेता गलत भयो भन्ने प्रमाणित गर्दैन । समग्र रूपमा हेर्दा, अहिले नेपाली कांग्रेसभित्र गगन थापाको स्थान लिन सक्ने अर्को नेता देखिरहेको छैन । समकालीन राजनीतिक परिस्थितिमा उनीजत्तिको नेता कांग्रेसमा छैनन् ।
– कुलचन्द्र न्यौपाने
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










