02/18/2026, 19:58:11
बुधबार, फागुन ०६, २०८२

कांग्रेसले अब पाँच वर्षको समय खेर फाल्दैन : सभापति थापा


काठमाडौँ, फाल्गुन ६ : कांग्रेस सभापति गगन थापाले अबको पाँच वर्षको समय खेर नफाल्ने बताएका छन् । उनले सबै राजनीतिक दल र पक्षलाई सम्हालेर कांग्रेसले अबको पाँच वर्ष विकास र परिवर्तनको नेतृत्व लिने बताए ।

कांग्रेसले अब पाँच वर्षको समय खेर फाल्दैन । कांग्रेसले हिजोको दिनको गौरव गर्छ । तर, हिजोमा अड्किएर बस्दैन । आजको समस्या समाधान गर्छ, भोलिको उज्यालो दिनको नेतृत्व गर्छ,’ उनले जनकपुरको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै भने, ‘कांग्रेसको शक्ति घृणा होइन । प्रेम हो । कांग्रेसको शक्ति निषेध होइन, सबैलाई सहभागी गराउने शक्ति हो । त्यसैले यो पार्टीले सम्हालेर, सबैलाई समेटेर, सिंहदबार जल्न नदिएर, कसैलाई गोली नहानेर यो देशको नेतृत्व गर्नेछ ।

थापाले पहिलाजस्तो घोषणामात्रै नगरी यसपटक गर्न सकिने विषयलाई मात्रै कांग्रेसले प्रतिज्ञापत्र ल्याएको बताए ।

म जे बोल्छु, यो प्रतिज्ञामा लेखिएको अक्षरशः पालना गर्छु । मैले मात्रै होइन, पार्टीका एउटा सदस्यहरुले पनि अबको पाँच वर्ष यसको पालना गर्नेछ । जस्तोसुकै असहज स्थितिमा पनि सरकार भएपनि, प्रतीपक्षमा भएपनि, महलमा भएपनि, सडकमा भएपनि, परिवर्तनका यी दसवटा बुँदाहरु पूरा गर्ने लक्ष्यमा काम गर्नेछ,’ थापाले भने ।

प्रत्येक नेपालीले पेटभरि खुवाउने, आफ्नो उत्पादनलाई संसारमा चिनाउने, ओखती गर्दै गर्दा डराउन नपर्ने, नेपाललाई मौलिकतामा गौरव गर्ने, आधुनिकतामा लम्किने नेपाल बनाउने आफूले अठोट लिएको उनले बताए ।

यो देशलाई विश्वले स्वभामिवानी देश भनेर चिन्ने देश बनाउने छौँ । नेपाललाई समुन्नतिलाई लम्काउने, प्रत्येक नागरिकलाई हैरानीबाट मुक्त बनाउने नेपाल बनाउने छौँ । पाँच वर्षको काम गर्दा दस वर्ष लाग्ला । पाँच वर्षमा नसकिएला । तर, कांग्रेसका प्रत्येक पाइलाहरु यो प्रतिज्ञाको लक्ष्य भेट्टाउन लाग्नेछ,’ उनले भने ।

बोल्नुअघि थापाले ‘भिजन टेन‘ अन्तर्गतको संक्षिप्त प्रतिज्ञात्रपत्र सार्वजनिक गरेका थिए । ‘राज्यको प्रश्न गर्दा राज्यको गोलीबाट कुनै पनि युवा अब मारिँदैन । कसैले नकाबाट सिंहदरबार जलाउन पाउँदैन । तन्नेरीको भावनलाई सम्पूर्ण ग्रहण गर्छौं । जेन-जी भनेको कहीँबाट आएको होइन । हाम्रौ घरबाट आएका हुन् । तीनले प्रश्न गरेका हुन् । ती सबैको उत्तर लिएर आएका छौं,’ थापाले भने,

अबदेखि मलखाँदका लागि लाइन बस्न पर्दैन । लाइसेन्स लिन जाँदा घुस दिन पर्दैन । हातमा फाइल बोकेर काठमाडौंको अदालतमा घन्टौं धाउन पर्दैन । कसरी गर्ने, के कारणले गर्दा भएन । कसरी गर्ने सबै कुराको खोजी गरेर आएका छौँ । हिजो धेरै काम भए । केही थुप्रै काम सुधार गर्ने संकल्प र योजना बोकेर आएका छौँ । २७ वटा विषयमा एउटा– एउटा कुरा लेखेका छौं । यो लेख्नका लागि लेखेको होइन,’ उनले भने, ‘त्यसैले यो पटक घोषणा गर्दैनौँ, प्रतिज्ञा गर्छौं भनेर प्रतिज्ञापत्र भनेका छौँ ।

उनले २७ वटा विषयमा शिक्षा, स्वास्थ्य, कृषि, युवा, महिला, दलित, मधेशीलगायत सबै क्षेत्रमा कसरी परिणाम ल्याउन सकिन्छ भनेर लामो समयदेखि अध्ययन गरेर प्रतिज्ञापत्र ल्याइएको बताए ।

तँ चोर, म असल, जादुको छडीले हानेजस्तो एकैछिनमा ठिक लगाउँछु भनेर म भन्दिनँ । समस्या छ, समस्यको जरा कहाँ छ ? कुन ठाउँमा गएर ठिक बनायो भने परिणाम ठिक आउँछ । हामीलाई विकास र प्रगति चाहिएको छ, त्यसको सबै अध्ययन गरेर समस्या पहिचान गरेर के गर्दा गर्न सकिन्छ भनेर पत्ता लगाएर यो प्रतिज्ञा गरिएको छ,’ थापाले भने, ‘प्रत्येक भाषा, धर्म, संस्कृतिलाई आफ्नो ठाउँ चाहिएको छ । त्यसलाई खोसेर होइन, अझै फराकिलो बनाएर परम्परागत मान्यतालाई जोगएर सबैलाई जातजाति, अल्पसंख्यकलाई लिएर सँगसँगै लिएर अधिकार संरक्षण गरेर विकासको ठाउँमा पुग्ने हो ।

दुई ठूला छिमेकी देशका बीचमा मुलुकलाई सम्हालेर लैजानुपर्ने नेतृत्व चाहिएको भन्दै थापाले टिम नेपालको भावनामा कांग्रेसले काम गर्ने बताए । ‘नेपाललाई स्कटल्याण्डलाई क्रिकेटमा हरायो । खेल मैदानमा खेलाडी थिए । खेलेको टिम नेपालले खेलेको हो । टिम यसरी नै बन्छ । कुनै भ्रम छैन, देश पनि एउटा दलले बनाउन सक्दैन । चटक जस्तो गरेर देश बन्दैन,’ उनले भने, ‘कांग्रेसले प्रदेश, स्थानीय तह सबैलाई मिलाएर लैजान्छ । सबै राजनीतिक दललाई नेतृत्व लिएर देश बदल्ने जिम्मा लिन्छ । देशभित्र रहेको र बाहिर रहेका नागरिकलाई जोड्छ । सबैलाई जोडेर टिम नेपालले पाँच वर्ष लड्छ । टिम लडछ्, नेपालको कुशासनलाई हराउँछ । नेपालको गरिबीलाई हराउँछ । नेपालको बेरोजगारीलाई हराउँछ ।