रौतहट, कात्तिक २३ गते । रौतहटको चार वटा नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनमा आज रौतहटको राजपुर नगरपालिका, परोहा नगरपालिका, इशनाथ नगरपालिका र बौधीमाइ नगरपालिकामा शोक बिदा दिइएको हो ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमको केएमसी अस्पताल सिनामङ्गलमा उपचारको क्रममा शनिबार बिहान २ः५८ मा निधन भएको थियो ।
राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सूचना जारी गर्दै राजपुर नगरपालिकाका नगर प्रमुख मोहम्मद डा. राजिक आलमको बुवाको निधनमा आइतबार एक दिनका लागि नगरपालिका तथा मातहतका कार्यालयमा शोक बिदा दिइएको जानकारी गराउनुभएको छ ।
त्यस्तै परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले सूचना जारी गर्दै रौतहट क्षेत्र नं. २ का पूर्व सांसद एवम् पूर्व मन्त्री आलमको निधनमा गहिरो दुःख व्यक्त गर्दै आइतबार एक दिन अस्पतालको आकस्मिक सेवा बाहेक सबै कार्यालय तथा शैक्षिक संस्था बन्द रहने बताउनुभएको छ ।
इशनाथ नगरपालिकाले समेत रौतहट क्षेत्र नं. २ का पूर्व सांसद एवम् पूर्व मन्त्री तथा राजपुर नगरपालिकाका नगर प्रमुख मोहम्मद डा. राजिक आलमको बुवा मोहम्मद अफताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै आइतबार इशनाथ नगरपालिका कार्यालय तथा मातहतका कार्यालयमा बिदा दिइएको नगरपालिकाका अधिकृत सातौँ इसराजुल खाँद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यस्तै बौधीमाइ नगरपालिकामा समेत नगरपालिका कार्यालय तथा मातहतका कार्यालयमा शोक बिदा दिएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री आफताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै एक दिन बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शङ्कर चौधरीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री आलमको निधनमा नेपाल निजामती कर्मचारी युनियन (संघ)ले समेत दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








