बारा, पुस ५ गते । बाराको सिमरा विमानस्थलबाट काठमाडौँका लागि सञ्चालन हुने सबै आन्तरिक हवाई उडान शनिबार रद्द भएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी पावर (दृश्यता) अत्यन्तै कम हुँदा उडान अवतरण सम्भव नभएपछि सम्पूर्ण उडान स्थगित गरिएको हो ।
नागरिक उडान प्राधिकरण सिमराका ट्राफिक एयर कन्ट्रोलर सङ्गम श्रेष्ठका अनुसार शनिबार बिहानदेखि विमानस्थल क्षेत्रमा दृश्यता करिब एक हजार मिटरमा सीमित रहेको छ । उडान सुरक्षाका लागि कम्तीमा दुई हजार चार सय मिटर दृश्यता आवश्यक पर्ने भए पनि हिजोदेखि नै आवश्यक मापदण्डभन्दा कम दृश्यता कायम रहेकाले उडान रद्द गर्नुपरेको उहाँले बताउनुभयो ।
सिमरा विमानस्थलबाट बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाहीसहित छिमेकी मुलुक भारतको रक्सौल आसपासका यात्रुहरुको प्रमुख हवाई आवागमन केन्द्र बाराको सिमरा नै रहेको मानिन्छ । दैनिक रुपमा व्यापार, उपचार, प्रशासनिक तथा निजी कामका लागि सयौँ यात्रु सिमराबाट काठमाडौँ आवतजावत गर्ने गर्छन् ।
सामान्य अवस्थामा सिमराबाट काठमाडौँका लागि दैनिक पाँचदेखि २५ वटासम्म साना जहाजमार्फत उडान हुने गर्दछ । तर मौसम प्रतिकूल बनेसँगै उडान अवरुद्ध हुँदा यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने वैकल्पिक स्थलमार्ग प्रयोग गर्न बाध्य भएका कलैया उपमहानगर पालिका–२ दोहोरीका श्यामबाबु प्रसाद यादवले भन्नुभयो ।
नागरिक उडान प्राधिकरणले मौसममा सुधार आएपछि मात्रै उडान पुनः सञ्चालन गरिने जनाएको छ । यात्रुहरुलाई उडान तालिकाबारे सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन अनुरोध गरिएको छ ।
– शिवशंकर मिश्रा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















