12/19/2025, 15:28:45
शुक्रबार, पुष ०४, २०८२
कठाल मल्हनिया मल्टी स्पान झोलुङ्गे पुल सिरहा धनुषा

कमला नदीमाथि झोलुङ्गे पुल : सुविधा, सम्भावना र उपेक्षाबिच कमजोर बन्दै

पाँच सय ४० मेट्रिक टन भार क्षमता रहेको पुलमा एकै पटक तीन हजार ८ सय ८६ पैदल यात्री आवत–जावत गर्न सक्ने प्रावधान छ । तर १ दशमलव २ मिटर मात्र चौडाइ रहेको पुलमा जथाभावी मोटरसाइकल गुडाइँदा पैदल यात्रु जोखिममा परेका छन् । सुरक्षाका लागि जडान गरिएका तार चुँडिन थालेका छन् भने नट–बोल्ट खुस्किँदै जाँदा पुलको मजबुतीमै प्रश्न उठ्न थालेको छ ।स्थानीय सरकारको मौनता र प्रशासनको कमजोर उपस्थितिका कारण पुल क्षेत्र असुरक्षित बन्दै गएको गुनासो पनि बढ्दै गएको छ । घुम्न आउने महिला तथा युवतीमाथि उच्छृङ्खल युवाहरूबाट दुर्व्यवहारका घटना, अनधिकृत रूपमा पार्किङ शुल्क असुली जस्ता समस्या देखिन थालेका छन् । यस्ता गतिविधिले पुलको छवि मात्र होइन, यसको दीर्घकालीन उपयोगमै नकारात्मक असर पार्ने खतरा छ ।


गौशाला (महोत्तरी), पुस ४ गते । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको पहिचान बनाएको कमला नदीमाथिको पुल सुविधा, सम्भावना र स्थानीय सरकारको उपेक्षाबिच कमजोर बन्दै गएको छ ।

यो झोलुङ्गे पुल सुविधा र सम्भावनाको प्रतीक मात्र होइन, स्थानीय सरकारको बेवास्ताका कारण चिन्ताको विषयसमेत बन्दै गएको छ । धनुषा र सिरहा जिल्लालाई जोड्ने यो पुल निर्माण भएको झन्डै दुई वर्ष पुग्न लाग्दा यसको प्रयोग, व्यवस्थापन र सुरक्षामा अपेक्षित तदारूकता नदेखिँदा संरचना नै कमजोर बन्दै गएको स्थानीयको गुनासो छ ।

कञ्चनपुरको दोधारा–चाँदनी पुललाई उछिन्दै एक हजार पाँच सय ४४ मिटर लामो रहेको यो झोलुङ्गे पुलले कमला नदीको अवरोध छिचोल्दै धनुषा, सिरहा मात्र होइन, भारतीय सीमावर्ती क्षेत्रका हजारौँ नागरिकको दैनिक जीवनलाई सहज बनाएको छ । शिक्षा, स्वास्थ्य उपचार, कृषि उपजको बजारीकरणदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम आवत–जावतमा समेत यसले ठुलो राहत दिएको छ ।

विशेषगरी हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा निर्माणाधीन पक्की पुल उद्घाटन भए सँगै चार वर्षअघि भासिएपछि यात्रुहरूका लागि यही झोलुङ्गे पुल वैकल्पिक मात्र होइन, प्रमुख मार्ग बनेको छ । दिनहुँ सयौँ सर्वसाधारण मात्र होइन, घुमघाम र अवलोकनका लागि आउनेको चापले पुल क्षेत्र सधैँ व्यस्त देखिन्छ ।

कठाल–मल्हनिया मल्टिस्पान नाम दिइएको यस पुलले धनुषाको पूर्वी भेग र सिरहाका बासिन्दालाई महेन्द्र राजमार्ग वा भारतीय बजार जयनगर घुमेर जानुपर्ने बाध्यताबाट मुक्त गराएको छ । यसले समय, खर्च र जोखिम तीनै घटाएको छ । तर यही बढ्दो प्रयोग अहिले पुलकै लागि चुनौती बन्दै गएको छ ।

पाँच सय ४० मेट्रिक टन भार क्षमता रहेको पुलमा एकै पटक तीन हजार ८ सय ८६ पैदल यात्री आवत–जावत गर्न सक्ने प्रावधान छ । तर १ दशमलव २ मिटर मात्र चौडाइ रहेको पुलमा जथाभावी मोटरसाइकल गुडाइँदा पैदल यात्रु जोखिममा परेका छन् । सुरक्षाका लागि जडान गरिएका तार चुँडिन थालेका छन् भने नट–बोल्ट खुस्किँदै जाँदा पुलको मजबुतीमै प्रश्न उठ्न थालेको छ ।

स्थानीय सरकारको मौनता र प्रशासनको कमजोर उपस्थितिका कारण पुल क्षेत्र असुरक्षित बन्दै गएको गुनासो पनि बढ्दै गएको छ । घुम्न आउने महिला तथा युवतीमाथि उच्छृङ्खल युवाहरूबाट दुर्व्यवहारका घटना, अनधिकृत रूपमा पार्किङ शुल्क असुली जस्ता समस्या देखिन थालेका छन् । यस्ता गतिविधिले पुलको छवि मात्र होइन, यसको दीर्घकालीन उपयोगमै नकारात्मक असर पार्ने खतरा छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० फागुन १२ गते भव्य समारोहबिच उद्घाटन गर्नुभएको यो पुल २१ करोड ५० लाख १० हजार सात सयको लागतमा निर्माण गरिएको हो । नेपालकै लामो यो पुल सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुर अन्तर्गत निर्माण भएको हो । विसं २०७८ फागुन २७ गतेको बोलपत्र अनुसार सपना, उमा एण्ड कम्पनी, थानी जेभी कन्सट्रक्सन बतीसपुतली काठमाडौँले यो पुल निर्माण गरेको थियो । सो कम्पनीसँग २०७९ असार ४ गते भएको ठेक्का सम्झौताअनुसार २०८१ असार मसान्तसम्म पुल निर्माण गरिसक्नु पर्ने शर्त थियो । सोहीअनुसार २०७९ मङ्सिर २ गतेदेखि पुल निर्माण सुरु गरेको कम्पनीले सम्झौता अवधिभन्दा छ महिना अगावै सम्पूर्ण कार्य सम्पन्न गरिएको कम्पनीका सब इन्जिनीयर उपेन्द्र देवकोटाले जानकारी दिनुभयो ।

कठाल मल्हनिया मल्टी स्पान झोलुङ्गे पुल सिरहा धनुषा नाम दिइएको यो पुलका लागि ३४ करोड बजेटको व्यवस्था भए पनि सार्वजनिक बोलपत्रको प्रकृयाबाट १९ प्रतिशत घटीमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । त्यसबाहेक, बृज डिभिजनले पुलमा लाग्ने तीन करोड बराबरको लट्ठा छुट्टै निर्माण उपलब्ध गराएको देवकोटाको भनाइ छ । यसअघि सबैभन्दा लामो मानिएको कञ्चनपुरस्थित महाकाली नदीमाथिको एक हजार चार सय ५३ मिटर लामो पुलभन्दा यो ९१ मिटर लामो रहेको छ ।

blog

पुलको परिकल्पनाकार मध्येका इञ्जिनीयर विनोदकुमार मण्डलले यो पुल महेन्द्र राजमार्गको मात्रै होइन, अलपत्र हुलाकी राजमार्गअन्तर्गतको कमला पुलको पनि विकल्प भएकोले यसको उचित संरक्षण हुनु पर्ने बताउनुहुन्छ । पुल निर्माणका लागि स्वयंसेवकको रुपमा सहयोग गर्नुभएको मण्डलले बताउनुभयो ।

धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माणाधीन कमला पुल अपलत्र छ । अहिले यस क्षेत्रका नागरिकको लागि यो एक सहज विकल्प भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यो पुल नै सिरहा र धनुषा सहित भारतीय सीमा क्षेत्रका लाखौं नागरिकका लागि विकल्प बनेको छ । त्यसैले स्थानीय र प्रदेश सरकारले यसको संरक्षणमा ध्यान दिनु पर्छ ।

देशकै गर्वका रूपमा स्थापित यो झोलुङ्गे पुल दीर्घकालसम्म सुरक्षित र उपयोगी रहोस् भने स्थानीय सरकार, प्रशासन र समुदायको संयुक्त जिम्मेवारी अपरिहार्य देखिन्छ । नत्र सुविधा र विकासको प्रतीक पुल नै उपेक्षाका कारण जोखिमको संरचनामा रूपान्तरण हुने खतरा बढ्दै जानेमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

– अजय शाह