महोत्तरी, पुस ६ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको पुरानो विद्यालय लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका (लचमुमावि) शिक्षकहरूले शिक्षण सिकाइको वातावरण निर्माणमा ठुलो भूमिका अभिभावकहरूको भएकोले अभिभावकहरूलाई यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।
लचमुमावि जलेश्वरका शिक्षकहरूले अध्ययनको समयमा घरमा विद्यार्थी के गर्दैछन भनेर घरदैलोमा पुगेपछि देखिएको भयावह अवस्थापछि सो निष्कर्षमा पुगेर अभिभावकहरूलाई सिकाईको वातावरणमा ध्यान दिन आग्रह गरेको हो ।
स्कुलका प्रधानाध्यापक संजीव कुमार झाले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरिय भएन, शिक्षक विद्यार्थीमाथि ध्यान नै दिँदैनन्, भनेर आरोप मात्रै लगाइरहेको घरदैलो अभियानपछि पुष्टि भएको देखिएको बताउनुहुँदै अभिभावकहरुले पनि विद्यार्थीहरू प्रति उचित ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
शिक्षण सुधारका लागि शिक्षक, विद्यालयको वातावरण मात्रै जिम्मेवार नभई अभिभावकहरू समेत जिम्मेवार हुनुपर्नेमा जोड दिनुु हुँदै प्रधानाध्यापक झाले भन्नु भयो, ‘सामुदायिक विद्यालयप्रति बढ्दै गएको अविश्वास र शिक्षक प्रतिको गुनासो सुनी साध्य छैन, विद्यालयको शैक्षणिक अवस्था सुधारका लागि हरेक वर्ष कैयौ अभियान संचालन गरिन्छ तर सबै पक्ष एक आपसमा सहयोग नगरेकोले सुधार नदेखिएको हो भन्ने हाम्रो बुझाइ छ ।’

घरदैलौ अभियान अन्तर्गत केही शिक्षकहरू सहित घरमा पढाई हुने मुख्य समय साँझमा ५० जना अभिभावकको घरदैलोमा पुग्दा दुई जना विद्यार्थी मात्र पढ्दै गरेको बाकी सबै अन्य कार्यमा व्यस्त देखिएको बताउनु हुँदै प्रधानाध्यापक झाले यसले शिक्षण सिकाईको वातावरण निर्माणमा अन्यौलता देखिएको बताउनु भयो ।
विद्यालयका प्राथमिक शिक्षक गङ्गा श्रेष्ठ मानन्धरले विद्यार्थीलाई स्वअध्ययनमा केन्द्रित गर्न र अभिभावकलाई आफ्नो छोराछोरी अध्ययन गरे नगरेको प्रति जागरूक हुन आग्रह गर्नकै लागि अभियान थालिएको बताउनु हुँदै यसले शिक्षण सिकाईमा प्रभावकारी योगदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षण सिकाइमा सुधार ल्याउन विद्यालय व्यस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, सरोकारवाला निकाय र स्थानिय समेत जिम्मेवार देखिनुपर्ने तर्क शिक्षकहरूले गरेका छन् । यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा जलेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष बरुण दाहालले विद्यालय अहिले ७४ औ वर्षपार गरी ७५ औँ वर्षमा प्रवेश भइरहेको बताउनु हुँदै विद्यालयको भौतिक संरचना अझ सुदृढ़ गर्दै यस अभियानले विद्यालयको शैक्षणिक अवस्थामा सुधार ल्याउँदै अभिभावक र विद्यालय बिचको सम्बन्ध अझ प्रगाढ़ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सदरमुकामकै सबभन्दा पुरानो विद्यालयको रूपमा पहिचान बनाएको लचमुमावि जलेश्वर वि.स २००८ सालमा स्थापना भएको नमुना विद्यालय हो ।
– नागेन्द्रकुमार कर्ण
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















