१ पुस, राजविराज : सप्तरीको सप्तकोशी नगरपालिका–७ ओदाहामा ज्योति विकास बैंकका दुई कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिट गर्ने उपमेयर रिताकुमारी चौधरीका श्रीमान्सहित दुई जना पक्राउ परेका छन् ।
मंगलबार सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिका सेयरधनी सोही ठाउँका ५२ वर्षका सञ्जिवकुमार चौधरी र जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का ४७ वर्षका उमाकान्त चौधरी पक्राउ परेका हुन् । सञ्जिव उपमेयर रिताकुमारीका श्रीमान् हुन् ।
बैंकले दिएको जाहेरीअनुसार दुवै जनामाथि अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक र ज्यान मार्ने उधोग कसुरमा सप्तरी जिल्ला अदालतबाट पाँच दिन म्याद थप लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले बताए । उनका अनुसार घटनाका आरोपीहरु उपमेयर चौधरीसहित उनका छोरा सिरज, सेयरधनीहरू प्रभुनारायण चौधरी र पञ्चदेव, रवीन्द्र स्वर्णकार फरार छन् । ‘फरार आरोपीहरुको पनि खोजी कार्य भइरहेको छ’, उनले भने ।
गत बुधबार ऋणी (प्रालिका सेयरधनी)सँग संवाद गर्न बैंकका प्रादेशिक कार्यालयका उपप्रबन्धक (कर्जा असुली प्रमुख) सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठ पुगेका थिए । उनीहरुमाथि उपमेयर चौधरीसहितकाले मोसो दलेर जुत्ताको माला लगाई कुटपिट गरेको भिडियो आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
२०७८ वैशाख २३ मा प्रालिले बैंकबाट लिएको ४ करोड ५० लाख रुपैयाँ ऋणको २०८१ चैत २८ पछि किस्ता नतिर्दा धितो लिलामी गर्न बैंकले मंसिर १९ मा ७ दिने अन्तिम सूचना निकालेको थियो । तर, सूचनाको म्याद नसकिँदै जग्गा विक्री गर्न बैंकले टिकटकमा विज्ञापन गरेपछि प्रालि र सेयरधनीको बदनामी भएको भन्दै उनीहरु आक्रोशित बनेका थिए ।
– विद्यानन्द राम
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













