09/08/2025, 16:09:02
सोमबार, भदौ २३, २०८२

धमाधम ओभरसिज मार्केटमा शोल्ड आउट हुँदै ‘बलिदान’


काठमाडौं, २३ भदौ : यो वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’को ओभरसिज मार्केट धमाधम शोल्ड आउट हुने क्रम जारी छ। अमेरिकामा हल र शोमा इतिहास रचिसकेको ‘बलिदान’ अन्य देशको ओभरसिज राइट्स पनि धमाधम बिक्री भइरहेको छ । निर्माणपक्षका अनुसार कोरियामा पनि यो सिनेमा शोल्ड आउट भइसकेको छ । जापानका १५ वटा सहरमा यो सिनेमा रिलिज हुने भएको छ ।

अधिकांश देशमा सिनेमाले उच्च शो पाएको निर्माता सन्तोष सेनले बताएका छन् । सुरुमा ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित प्रदर्शन हुने अपेक्षा गरिएको निर्देशक सेनले बताएका थिए ।

तर, विस्तारै हलहरुले हो थप्दै गएका छन् । हामीले भनेभन्दा पनि दोब्बर बढीमा अमेरिकामा बलिदानले शो पाउने भएको छ,’ सन्तोषले भने, ‘यसले हामीलाई थप उत्साह थपेको छ ।

उनको अनुसार यसअघि कुनै पनि नेपाली सिनेमा एएमसी चेनमा प्रदर्शन भएको छैन । इतिहास तोड्दै ‘बलिदान’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पु¥याएको सेनले दाबी गरेका छन् । एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुने भएको छ । अमेरिकामा यी चेनमा हुने रिलिज शोले यसको आक्रामक ओपनिङ निश्चित भइसकेको छ ।

अमेरिकाजस्तै अन्य देशमा पनि यो सिनेमाले हल र शो पाउने निर्देशक सेनको दाबी छ । अहिले आइरहेको इन्क्वाइरीले सिनेमाप्रति दर्शकको व्यग्र प्रतिक्षा रहेको पुष्टि गर्ने उनले बताएका छन् ।

हामीले यो सिनेमार्फत एक्सन जनरमा नेपाली सिनेमालाई नयाँ उचाइ दिने प्रयास गरेका छौँ । यसका लागि मेहनत गरेका छौँ,’ उनले भने, ‘हाम्रो यो उद्देश्यमा अहिलेसम्म दर्शकले साथ दिनुभएको छ ।’ ‘बलिदान’ लाई सन्तोष सेनले निर्देशन गरेका छन् ।

‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय देख्न सकिनेछ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । यो सिनेमाले समीरको पहिलो सिनेमा ‘१२ गाउँ’को बक्स अफिस रेकर्डलाई पछि पार्ने धेरैको विश्वास छ ।