08/18/2025, 15:29:58

सविर निर्देशित ‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता सिंह


२ भदौ, काठमाडौं : गत शनिबार पशुपतिनाथ मन्दीरमा शुभमुहूर्त गरिएको सविर श्रेष्ठको निर्देशनमा निर्माण हुने सिनेमा ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि अभिनेत्री निरुता सिंह नेपाल आइपुगेकी छिन् । आइतबार राती मुम्बईबाट नेपाल आएकी निरुताले पत्रकारहरुसँग कुरा गर्दै आफू नेपाली सिनेमामा काम गर्न अत्यन्तै उत्साहित रहेको बताइन् ।

निरुताले भनिन्, ‘अब म कही पनि जादिनँ । म निरन्तर नेपाली सिनेमामा काम गर्छु । बिचमा मलाई कोरोना भयो । त्यसकारण, मैले सिनेमामा काम गर्न पाइनँ । अब भने म कही पनि जान्नँ ।’ निरुताले आफू नेपाली सिनेमा भन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन् । बिचमा केही सिनेमाबाट अफर आएपनि विभिन्न कुराहरु नमिलेर काम गर्न पाएको थिइनँ ।

यो सिनेमामा निरुताको भूमिका के हो भन्ने खुलेको छैन । निर्देशक श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने बताए । निरुतालाई सिनेमामा लिनुको कारणबारे सविर भन्छन्, ‘मैले सहायक निर्देशकको रुपमा निरुता दिदीसँग केही सिनेमामा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ । कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो सिनेमामा पनि निरुता दिदी नै चाहिने भूमिका छ । यसैले, उहाँलाई हामीले आग्रह गरेका हौं ।

यो सिनेमामा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारको पनि अभिनय छ । अभिनेत्री रेखा थापा र निरुता सिंहले सिनेमा ‘दुई पल’पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । अब भने यी दुई स्टार अभिनेत्रीले एकसाथ काम गर्दैछन् । अभिनेत्री सिंहले सिनेमा ‘दाल भात तरकारी’पछि नयाँ नेपाली सिनेमामा काम गरेकी छैनन् । उनी आजबाट छायांकनमा जान लागेको सिनेमा ‘३६ को आँकडा’मा काम गर्न तयारी भएकी छिन् ।