07/18/2025, 14:27:38

‘पोषण वर्णमालाः थरी–थरी रङ, थरी–थरी स्वाद’ सार्वजनिक


काठमाडौँ, २ साउन : भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले साङ्ग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमाला ः थरी–थरी रङ, थरी–थरी स्वाद’ प्रकाशन गरेको छ । सार्वजनकि भएको यस पुस्तकका संयोजक कृष्ण जिसी र पूर्णचन्द्र वस्ती हुनुहुन्छ । उहाँहरूले खाद्य प्रविधि तथा पोषणका क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव हासिल गर्नुभएको छ ।

उहाँहरूका अनुसार यो पुस्तकले बालबालिकामा सानैदेखि स्थानीय, परम्परागत र पोसिला खानेकुराप्रति सकारात्मक धारणा विकास गर्न मद्दत गर्नेछ । साथै, यसले असल खानपानको बानी बसाल्न तथा अभिभावक र शिक्षकहरूलाई सहयोग पुर्याउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

पोषण वर्णमाला’ पुस्तकले नेपाली वर्णमाला सिकाउने नयाँ शैली प्रस्तुत गरेको छ । प्रत्येक अक्षरसँग नेपालका विभिन्न स्थान र जातजातिका पोसिला खानेकुराको परिचय समेटिएको छ । उपलब्धता र अध्ययनका आधारमा यस पुस्तकमा एक सय ६० भन्दा बढी खानेकुरा समेटिएका छन् ।

पुस्तकलाई आकर्षक बनाउने उद्देश्यले अनामिका गौतमले चित्र तयार गर्नुभएको छ र सम्पादन आन्विका गिरीले गर्नुभएको हो । यो पुस्तकले घरमा अभिभावक र विद्यालयमा शिक्षकलाई बालबालिकालाई पोसिला खानेकुरा र अक्षर चिनाउने सरल र प्रभावकारी माध्यम बन्नेछ भन्ने विश्वास गरिएको साङ्ग्रिला बुक्सले जनाएको छ ।