जनकपुर, २१ फागुनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमा नाकाबाट हुने पोल्ट्रीजन्य वस्तुको अवैध आयातमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
उहाँले विभिन्न नाकाबाट अवैध रुपमा भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेस प्रहरी प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर नं २ मुख्यालयका प्रमुख कालीदास धौवजीलाई आज निर्देशन दिनुभएको हो ।
सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अण्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यवसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने माग राख्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले आज मुख्यमन्त्री सिँहको ध्यानाकर्षण गराएको थियो ।
कुखुरापालक व्यावसायीले देशको कूल गार्हस्थ उत्पादनमा तीन प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगार दिएको पोल्ट्री क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग राखेका थिए ।

मुख्यमन्त्री सिंहले पोल्ट्रीजन्य पदार्थको खुला बिक्रीवितरणमा साना पुँजी भएका व्यक्तिहरूको संलग्नता रहेकाले चेतनामूलक कार्यक्रमका साथ नियन्त्रण प्रयास हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अवैध आयात नियन्त्रण गर्न त्यसरी आयातीत वस्तुको बिक्रीवितरण निषेधमा जोड दिनुपर्छ । यसका लागि साना व्यापारीमा अवैध तरिकाले भित्रिएका पोल्ट्रीजन्य पदार्थबाट जनस्वास्थ्यमा पर्नसक्ने नकारात्मक असर बारे चेतना जागृत गर्नुपर्छ ।”
उहाँले योजनाबद्ध तरिकाले पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै त्यस्ता वस्तुको अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो ।
नेपालको पोल्ट्री व्यवसायमा रु एक खर्ब ६० अर्ब लगानी रहेको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














