काठमाडौँ,पुस २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्नान गर्नुपर्ने बताएका छन् । आज आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरूको समूहसँग छलफलमा कोइरालाले यस्तो बताएका हुन् ।
उनले अहिले राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार टुङ्ग्याउनुपर्ने भएकोले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर ६ माघपछि बोलाउँदा उचित हुने बताए ।
भेटघाटमा कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाँक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए ।
त्यस्तै उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा अरु दलहरूसँग गठबन्धन गर्न नहुने पनि बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई–चार सिट बढी आए पनि समानुपातिका मत घट्ने र कांग्रेसलाई दीर्घकालीन हानी हुने उनको भनाइ छ ।
भेटमा ३० जान केन्द्रीय सदस्यहरूको समूहको तर्फबाट बोल्दै केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टीमा देखिएको समस्या समाधानका लागि शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेको जानकारी दिएकी थिइन् । उनले आफूहरू कसैको पनि पक्षमा नरहेको उल्लेख गर्दै पार्टीमा देखिएको विवादका कारण चिन्तित भएको जानकारी दिइन् । उनले पार्टीको समस्या समाधानका लागि मध्यमार्गी बाटो पहिल्याउन कोइरालालाई अनुरोध गरिन् ।
अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाको रूपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्ने जोड दिएका थिए । पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरम विवादमा फस्दै गएको बताएका थिए ।
छलफलमा केन्द्रीय सदस्यहरू– चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत सहभागी थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










