01/07/2026, 23:49:26
बुधबार, पुष २३, २०८२

कांग्रेस पार्टी कार्यालयमा विमलेन्द्र निधिविरुद्ध नाराबाजी


काठमाडौँ, पुस २२ : कांग्रेसमा विशेष महाधिवेशनका पक्षमा रहेका कार्यकर्ताले पूर्वउपसभापति विमलेन्द्र निधिलाई घेरेर पार्टी कार्यालयमा नाराबाजी गरेका छन् । विशेष महाधिवेशनलाई अवरोध गरेको भन्दै उनीहरूले निधिमाथि खनिएका हुन् ।

त्यसपछि निधिसमेत उनीहरूको प्रतिवादमा उत्रिएका थिए । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन जाँदै गरेका निधिलाई पूर्वपट्टिको गेटबाट भित्र पस्नासाथ कार्यकर्ताले घेरेका थिए ।

प्रहरीले असन्तुष्ट कार्यकर्ताहरूलाई अघि बढ्न रोके पनि नाराबाजी पनि चलिरहेको थियो । त्यसपछि निधिले ‘तँ को होस्‘ भन्दै उनीहरूविरुद्ध प्रतिवादमा उत्रिएका थिए ।

पार्टी बैठकमा प्रवेश गर्न खोज्दा आफूमाथि दुव्यर्वहार गरिएको निधिले बताए । ‘पार्टी कार्यालयको पूर्वपट्टिको बाहिर गेटमा घेरेर बसेका थिए । मलाई घेरेर गाडी जान दिएनन् । हिँडेर भित्र पस्न लाग्दा चारैतिर घेरे । गाडीको हुटमा टाँसिएर मलाई गाली गर्न थाले । डराउने कुरा भएन । तीमध्ये कसैले नुवाकोटको भन्थे । मैले तँ को होस् ? यस्तो बोल्ने कांग्रेस हुन सक्दैनन्,’ निधिले भने ।

निधिले विशेष महाधिवशनको कुरा भए शान्त वातावरणमा कुरा गर्न सकिने बताए । ‘तर एकैचोटि विमलेन्द्र निधि मुर्दावाद भन्दै नानाभाँती बोल्न थाले,’ उनले भने ।

यता विशेष महाविधेशन पक्षधर नेताहरूले भने विज्ञप्ति निकालेर पार्टी केन्द्रीय कार्यालयमा आफूहरूको कुनै पनि कार्यक्रम नभएको जानकारी गराएका छन् । ‘नेपाली कांग्रेस विशेष महाविधेशनको पक्षधरहरूको पार्टी कार्यालयमा कुनै पनि गतिविधि र कार्यक्रम नरहेको व्यहोरा सर्वसाधारण सम्पूर्णमा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।