कास्की, असोज ११ : पोखरा पानीको सहर हो । यहाँ छिनमै घाम लाग्छ, छिनमै पानी पर्छ । त्यसैले पनि होला यहाँका कलाकार पानीलाई निकै रुचाउँछन् । पोखरा र यहाँका सेरोफेरो हिमाल, पहाडलाई पानी रङ (वाटर कलर) को प्रयोग गरी दुरुस्त उतार्ने हुँदा पोखरेली कलाकारको छुट्टै पहिचान बनिसकेको छ । नयाँदेखि पुराना कलाकारले पानी रङलाई चित्रमा प्रयोग गरेको पाइन्छ ।
पोखरामा वाटर कलरको सुरु कहिलेबाट भयो त ? कलाकार दुर्गा बराल भन्नुहुन्छ, “विश्वमा मानिसको जति इतिहास पुरानो छ त्यति नै वाटर कलरको पनि छ तर पोखराको हकमा २००७ सालअघिबाटै सुरु भएको अनुमान गर्न सकिन्छ । त्यति बेला पुराना कलाकार कृष्णप्रसाद श्रेष्ठले चित्र कोर्ने गर्नुहुन्थ्यो । पछि २०४० पछि यसको विकास सुरु भएको हो ।”
अरू ठाउँको चित्रभन्दा पोखराका चित्रमा छुट्टै शैली हुने गरेको उहाँको भनाइ छ । वाटर कलर विकासको क्रममा पोखरेली युवा सांस्कृतिक परिवारले विभिन्न कार्यक्रम गर्दै कलाकारलाई ग्रामीण भेग घुमाउने गरेको उहाँले स्मरण गर्नुभयो । “कलाकार गएर ग्रामीण जनजीवन, हिमाल, प्राकृतिक दृश्यका चित्र बनाएर ल्याउँथे । ती चित्र राम्रो मूल्यमा बिवाटर कलरमा आकर्षण बढ्दो, बिक्री न्यून हुने गर्दथे । अहिले पोखरालाई स्कुल अफ वाटर भनेर चिनिने गर्छ,” उहाँले भन्नुभयो ।
पोखरेली चित्रकलामा छुट्टै शैलीको विकास भएर नै यहाँका चित्र देशको जुनसुकै ठाउँमा लगे पनि चिन्ने गरेको बरालले बताउनुभयो । “चित्रकलामा पोखराको बेग्लै पहिचान बनिसकेको छ । पछिल्लो समय युवा पनि सक्रीय रूपमा लागिपरेका छन्,” उहाँले भन्नुभयो । रङ धेरै प्रयोग नगरी मात्रा थोरै भए पनि वाटर कलरमा बनाउन सकिने बरालले प्रस्ट्याउनुभयो । वाटर कलर सुरुवातको समयमा पोखरा घुम्न आउने पर्यटकले किनेरै लैजाने गरेको उहाँले बताउनुभयो । “आन्तरिकदेखि बाह्य पर्यटकले राम्रो मानेर किनेर लैजाने गर्दथे । आम्दानीको राम्रो स्रोत भएर नै यसप्रति लाग्ने कलाकार बढी छन्,” उहाँले भन्नुभयो ।
युवापुस्ता पेन्टिङमा आकर्षित भए पनि वाटर कलर निकै रिस्क हुने गरेको कलाकार रमेश श्रेष्ठ बताउनुहुन्छ । पछिल्लो समयमा यसको माग र बनाउने कलाकार बढ्दो व्रmममा रहेको उहाँले बताउनुभयो । “वाटर कलर एकचोटि बिग्रियो भने करेक्सन गर्न मिल्दैन पानी नसुक्दै बनाउनु पर्छ । पोखरेली कलाकारले पानी रङको प्रयोगबाट पृथक् किसिमका चित्र उतार्ने गरेको पाइन्छ । नवकलाकार पनि यसप्रति आकर्षित छन्,” उहाँले भन्नुभयो ।
पेन्टिङको आकर्षण बढे पनि किनेर घरमा राख्नेको सङ्ख्या न्यून रहेको उहाँको विश्लेषण छ । “मानिसहरू तीन÷चार करोडको घर बनाएर बस्छन् तर घरको भित्तामा दुई लाखको पेन्टिङ राखेको हुँदैन । बिक्रीवितरण नै न्यून छ । यो विडम्बना हो,” उहाँले भन्नुभयो । पछिल्लो समयमा चित्रकलाले विस्तारै व्यावसायिक गति लिँदै गए पनि सोचे जस्तो नभएको उहाँको भनाइ छ । यसको अझै व्यावसायिक र स्थापित पहिचानलाई जोगाउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।