05/12/2025, 09:42:36

आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा


नयाँदिल्ली, २८ वैशाख (रासस/एएफपी) : भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल गर्न बैठक बसिरहेको बताइएको छ ।

आणविक–सशस्त्र छिमेकी भारत र पाकिस्तानले शनिबार शत्रुताको अन्त्य गर्न आह्वान गरे र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) सचिव देवजित सैकियाले क्रिकबज वेबसाइटलाई उहाँहरूले ‘विकसित परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको’ बताउनुभएको छ ।

सैकियाले भन्नुभयो, “आइपिएलका सबै सरोकारवाला र सम्बन्धित सरकारी अधिकारीहरूसँग परामर्श गरेपछि आइपिएल पुनः सुरु गर्ने बारे निर्णय लिइनेछ ।”

बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले भारतीय मिडियालाई भविष्यको कार्ययोजना निर्धारण गर्न आइतबार बैठक बस्ने बताउनुभएको छ ।

उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा रहेको धर्मशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटलबीचको खेल रद्द भएको एक दिनपछि शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) एक हप्ताका लागि स्थगित गरिएको थियो ।

हवाई क्षेत्र बन्द भएकाले शुक्रबार खेलाडीहरूलाई दिल्ली फर्काउन विशेष रेलको व्यवस्था गरिएको थियो भने विदेशी खेलाडीहरू शनिबारदेखि घर फर्कन थालेका थिए ।

आइतबार टोलीहरूले आफ्ना विदेशी खेलाडीहरू र प्रशिक्षण स्टाफलाई फर्काउनेबारे सम्पर्क गरिरहेको रिपोर्ट गरिएको छ र इएसपिएनक्रिकइन्फो वेबसाइटले सरकारबाट अनुमति मिल्ने भए आइपिएल मे १५ को आसपासमा पुनः सुरु हुनसक्ने जनाएको छ ।

नियमित सिजनका १२ खेल खेल्न बाँकी छन् । त्यसपछि तीन प्लेअफ खेल र फाइनल खेल खेलिनेछन् । फाइनल खेल मूल रूपमा मे २५ मा हुने तय गरिएको थियो ।

भारत र पाकिस्तानले काश्मीरलाई लिएर आफ्ना तीनवटा पूर्ण–स्तरका युद्धमध्ये दुईवटा लडेका छन् । यो विवादित क्षेत्रलाई दुवैले पूर्ण रूपमा दावी गर्छन् तर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेदेखि यसका अलग–अलग भागको प्रशासन गर्दै आएका छन् ।

नयाँदिल्लीले बुधबार बिहान दुई हप्ताअघि भारत नियन्त्रित काश्मीरमा पर्यटकहरूमाथि भएको घातक आक्रमणको जवाफमा मिसाइल आक्रमण गरेको थियो । पर्यटकमाथि भएको आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष दिएको छ ।

इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ ।

बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ६० जनाको मृत्यु भएको छ । यो दक्षिण एसियाली यी दुई छिमेकीबीच दशकौँमा सबैभन्दा खराब हिंसा हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ