१७ वैशाख, काठमाडौं : दशैंको फूलपातिमा प्रदर्शन तयारीमा रहेका फिल्म ‘बलिदान’को टिजर युट्युबमा सार्वजनिक भएको छ । अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा निर्माताले बुधबार टिजर ल्याएका हुन् ।
यो एक्सनप्रधान टिजरले फिल्मको मुख्य पात्रको चरित्र स्थापना, कथावस्तु र मनोविज्ञान चित्रणको प्रयत्न गरेको छ । दमदार एक्सनका दृश्यसहित देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेसन सुन्न सकिन्छ । भनिएको छ- ‘देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म ।’ भिडियोको अन्त्यमा भट्टको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।
निर्देशक सन्तोष सेनले समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएको बताए । ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ’ सेनले भने । सेनले टिजरलाई श्रृखंलाबद्धरुपमा प्रस्तुत गरिने बताए । २०८१ सालमा रिलिज भएको एक्सन फिल्म ‘१२ गाउँ’बाट घरेलु फिल्ममा डेब्यु गरेका समीरको दोस्रो यो फिल्म प्रतीक्षित छ ।
फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीको पनि अभिनय छ । आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको फिल्मका नर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।