लेखनाथ (कास्की), १८ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका नाममा सञ्चारकर्मी र मिडियामाथिको आक्रमण निन्दनीय भएको बताउनुभएको छ ।
पत्रकार सुरेश रजकको मृत्युको विषयलाई लिएर पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलद्वारा आज पोखरामा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले आन्दोलन र जनसभाका नाममा भएको अराजक गतिविधिका कारण पत्रकार रजकसहित अर्का एक युवाको ज्यान जानु अत्यन्तै दुःखद भएको बताउँदै उक्त हत्यामा संलग्नलाई पक्राउ गरी छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउने आश्वासन दिनुभयो ।
‘नेपालको संविधानले शान्तिपूर्ण रूपमा जनसभा र जुलुस गरी आफ्ना माग राख्न पाउने अधिकार दिएको छ, तर अराजक गतिविधिद्वारा जनधनको क्षति गर्ने गरी यस्ता गतिविधि गर्न कुसैलाई छुट छैन”, उहाँले भन्नुभयो, “चैत १५ गते काठमाडौँको तिनकुनेमा घटाइएको उक्त घटना निन्दनीय छ ।”
निरङ्कुश राजतन्त्रको बेला जनतामा सचेतना जगाउन नेपालको मिडिया क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको बताउँदै उहाँले महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र आफूले सङ्घ सरकारसम्म पुर्याइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सञ्चारकर्मीले संविधान र गणतन्त्रको सुरक्षामा सक्रिय रूपमा कलम चलाउँदै आएको बताउँदै उहाँले स्वतन्त्र पत्रकारिताको लागि प्रदेश सरकारको सधैँ सहयोग रहने बताउनुभयो ।
ध्यानाकर्षण पत्रमा ज्यान गुमाएको पत्रकार रजकको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उहाँको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै घाइते पत्रकारको उपचारमासमेत सरकारले सहयोग गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















