२३ फागुन, काठमाडौं : क्राइम थ्रीलर फिल्म ‘११ः५५ – डु नट ट्रस्ट एनिवन’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २८ सेकेण्डको ट्रेलरमा लभ, रोमान्स, धोका र बदलाको कथा समेटिएको छ ।
ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत खुलाएको छ । कथाको केन्द्रमा विवाहेत्तर सम्बन्ध र सम्पत्तिको लोभले निम्त्याउने कथानकको उतारचढावलाई चित्रण गरिएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । ट्रेलरअनुसार फिल्ममा सृष्टि श्रेष्ठ र महेश त्रिपाठीले दम्पतीको भूमिका निर्वाह गरेको देखिन्छ ।
दम्पतीको बीचमा आउने विवाहेत्तर सम्बन्ध, धोका र सम्पत्ति हत्याउन तेस्रो व्यक्तिले गर्ने षड्यन्त्रको कथा यसमा छ । पात्रहरू एकपछि अर्का गरि बदला लिन तयार देखिन्छन् । रहस्य गुप्त राखिएको छ, जसलाई दर्शकले हलमा हेर्नुपर्नेछ । तपाईंलाई क्राइम थ्रीलर फिल्ममा रुचि छ भने यो फिल्म एउटा ट्रीट हुनसक्छ । पछिल्लो समय चर्चामा आएका महेशको यो फिल्मको रोलले उनलाई थप मद्दत पुग्ने अपेक्षा छ ।
पटकथा लेखन र निर्देशन केशव पाण्डेले गरेका हुन् । निर्देशक पाण्डेसँगै कलाकार अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको नृत्य, देव महर्जनको द्वन्द्व, राजेन्द्र मोक्तानको रङ, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनर छन् ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । कार्यकारी निर्माता एमएस अग्रज हुन् । ‘११ः५५- डु नट ट्रस्ट एनिवन’ चैत ८ गतेदेखि हलमा प्रदर्शन तयारीमा छ ।