पाटन (ललितपुर), १९ फागुन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खेलकुद क्षेत्रको विकासका लागि पार्टीका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गोदावरी नगरपालिका, नेपाल कराते महासङ्घ एवं ललितपुर डोजोको आयोजनामा गत शुक्रबारदेखि यहाँ आयोजित ‘चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता’को समापन कार्यक्रममा उहाँले खेल पूर्वाधार निर्माण तथा खेलाडीलाई हौसला हुने ढङ्गले राज्यले काम गर्नुर्छ भन्नुभयो । साथै उहाँले त्यसनिम्ति सक्दो सहयोग गर्ने बताउनुभयो ।
अहिले आफू र आफ्नो पार्टी सरकारको जिम्मेवारीमा रहेकाले अबको समयमा खेलकुद क्षेत्रमा उत्कृष्ट काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।
“मलाई थाहा छ, खेलाडीहरुको जीवन कति अप्ठ्यारो छ । अहिले हामी सरकारमा छौँ, सङ्घमा हामीले बनाएको प्रधानमन्त्री हुनुहुन्छ, प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरु हाम्रा हुनुहुन्छ, यो समयमा हामीले खेलकुद क्षेत्रको उन्नयनका निम्ति उत्कृष्ट काम गरेर देखाउनुपर्छ”, उहाँले भन्नुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक इमानदारी प्रतिमूर्ति कृष्णप्रसाद भट्टराईको नाममा खेलकुदका प्रतियोगिता गरेर उहाँको योगदानलाई जीवन्त बनाउन गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृष्णप्रसाद भट्टराईले प्रजातान्त्रिक आन्दोलन र देशको विकासका निम्ति निर्वाह गर्नुभएको भूमिकाको चर्चा गर्नुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











