सुनसरी, १७ फागुनः कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै इटहरी नमुना कलेजको टिम नमुना ब्लास्टरले उपाधि जितेको हो ।
सुनसरीको भोक्राहास्थित डा. खलिल आजाद खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दीपेन्द्रसिंह ऐरी र कुशल भूर्तेलको आक्रामक अर्धशतकीय इनिङमा ८ विकेट गुमाउँदै २ सय ७ रनको उच्च स्कोर खडा गरेको थियो ।
आक्रामक सुरुवात गरेका ऐरीले ७८ रनको सानदार पारी खेले । ३४ बलको सामना गरेका उनले ८ छक्का र ५ चौका प्रहार गरेका थिए । ३४ बलको सामना गरेका भूर्तेलले ३ छक्का र ५ चौकाको मद्दतमा ५३ रन बनाएर विपीनकुमार महतोको बलमा आउट भए । कुशल मल्लले २२ बलमा अविजित ४३ रनको उत्कृष्ट इनिङ खेले । भोक्राहाका सन्दीप ढुंगानाले ३ र भुवन कार्कीले २ विकेट हात पारे ।
जवाफमा २ सय ८ रनको विजयी लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको भोक्राहाले ८ विकेटको क्षतिमा १ सय ७१ रन बनाउन सक्यो । उसका लागि सुजन थपलियाले ३३, रोहन शाहले १२ बलमा ४ छक्काको मद्दतमा नटआउट ३० रन बनाए ।
सुमित महर्जनले २९, कप्तान अंकित सुवेदीले २२, शिवम् यादवले १६, दीपक बोहराले ११ र आयुष्मान बमले १० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नमुनाका इशान पाण्डेले ३ र कुशल मल्लले २ विकेट लिए ।
उपाधि विजेता नमुना ब्लास्टरले ५ लाख ५ हजार र उपविजेताले ३ लाख ३ हजार रुपैयाँ पुरस्कार पाए । नमुनाका ऐरी म्यान अफ द फाइनल घोषिता भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भोक्राहाका सन्दीप ढुंगानाले २५ हजार रुपैयाँ पाए । उत्कृष्ट ब्याटर इटहरी आदर्श जाइन्ट्सका भीम सार्की भए ।
उत्कृष्ट बलर पूर्वेली सुपरकिंग विराटनगरका दिनेश अधिकारी भए । उनीहरू दुवै जनाले जनही १५ हजार पुरस्कार पाए । नमुनाका प्रकाश कार्की र भोक्राहाका भुवन थापा उदीयमान खेलाडी घोषित भए । फागुन ५ देखि सुरु भएको प्रतियोगितामा सात टिम सहभागी थिए ।