04/19/2025, 22:52:13

त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखला : नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित


काठमाडौँ, २३ माघः  स्टेर कालिस र फेब मोलकेनबोइरले कीर्तिमानीयुक्त शतकीय साझेदारी गरेपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी २० क्रिकेट शृङ्खलामा बुधबार नेपालमाथि १० विकेटको विजय हात पारेको छ ।

कािलस र मोलकेनबोइरको सानदार ब्याटिङमा नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ४६ रनको लक्ष्य २ बल अगाडि १ सय ५१ रन बनाउँदै पूरा गरेको थियो । महिला ट्वान्टी २० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि नेदरल्यान्ड्सको यो सबैभन्दा ठूलो साझेदारी हो । कालिस र डेनिस भान डेभेन्टरले २०१९ मा जर्मनीविरुद्ध १ सय ४४ रनको साझेदारी गरेका थिए । कालिस ९८ र मोलकेनबोइर ४८ रन बनाउँदै पूरा गर्‍यो । विजयी छक्का प्रहार गरेकी कालिसले ६९ बल बनाउँदै कुल ११ चौका र २ छक्का प्रहार गरिन् । मोलकेनबोइरले ४९ बल खेली ४ चौका प्रहार गरिन् ।

शृङ्खलामा नेपालको यो लगातार पाँचौं हार हो । नेदरल्यान्ड्सले ५ मध्येको तीन खेल जितेको छ । नेदरल्यान्ड्सले जितेको सबै तीन खेल नेपालसँग रहेको छ । नेदरल्यान्ड्सले यस विजयसँगै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । थाइल्यान्ड पहिलो चारै खेल जितेर तीन राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स र थाइल्यान्ड बिहीबार खेल्ने छ । नेपालले प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डको सामना गर्नेछ ।

यसअघि पूजा महतो र कप्तान इन्दु बर्माको सानदार ब्याटिङमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । पूजाले अविजित ६२ रन बनाई महिला ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाइन् । गत वर्षको फेब्रुअरीमा उनले माल्दिभ्सविरुद्ध मलेसियामा आफ्नो पहिलो अर्ध शतक बनाउनेक्रममा अविजित ५९ रन बनाएकी थिइन् । पूजाले ५१ बल खेली ५ चौका प्रहार गरिन् । इन्दुले ३७ बल खेली ५ चौका प्रहार गरी ३९ रन बनाइन् । सम्झना खड्का ६ रन बनाई पहिलो ओभरमा र अर्की ओपनर ममता चौधरी १ रन बनाई आउट भएपछि इन्दु र पूजाले तेस्रो विकेटमा ६३ बलमा ७८ रनको साझेदारी गरिन् ।

पूर्व कप्तान रुविना क्षेत्रीले १७ बल खेली ३ चौका प्रहार गरी २० रन बनाइन् । कविता जोशी ६ बल खेली १ छक्का प्रहार गरी ७ रनमा अविजित रहिन् । नेदरल्यान्ड्सबाट आइरिस विलिङले २ तथा क्यारोलिन डी लाङ्गे र हिथर्स सिगर्सले १–१ विकेट लिइन् ।