काठमाडौँ, २२ माघः नेपालले थाइल्यान्डविरुद्धको खेल जित्ने राम्रो मौका गुमाएको छ । थाइल्यान्डले मंगलबार त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा नेपाललाई ५ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६ रन बनाएको थियो । जवाफमा आएको नेपालले ८ विकेट गुमाई १ सय १ रनमात्र बनाउन सक्यो ।
प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो । त्यसको ठीकविपरीत थाइल्यान्डले सबै चार खेल जितेको छ । थाइल्यान्डले उपाधि जित्ने लगभग निश्चित भएको छ । सहभागी टोलीले आपसमा ३-३ पटक खेलेपछि सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ । थाइल्यान्डको ८, नेदरल्यान्ड्सको ४ अंक छ । नेपालले कुनै अंक बटुल्न सकेको छैन ।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल १४ वर्ष यता थाइल्यान्डलाई पहिलो पटक पराजित गर्ने दाउमा थियो । तर पावर प्लेको पहिलो ६ ओभरमा १४ रन बनाउँदा नेपालले ममता चौधरी (०), कप्तान इन्दु बर्मा (३), विन्दु रावल (०), सम्झना खड्का (५) लाई गुमाइसकेको थियो । रुविना क्षेत्री र पूजा महतोले पाँचौं विकेटमा ४४ रनको साझेदारी गरेपछि नेपालको आशा बढेको थियो । तर रुविना र पूजा ५ बलको अन्तरमा आउट भए । रुविनाले ३० बल खेली ३ चौका र १ छक्का प्रहार गरि २६ र पुजाले २८ बल खेलि २ चौका प्रहार गरि १८ रन बनाइन् ।
रोमा थापा र कविता जोशीले सातौं विकेटमा ३६ रनको साझेदारी गरी नेपाललाई पुनः आशा दिलाए । कविताले २० बल खेली ३ चौका र १ छक्का प्रहार गरी २४ रन बनाइन् । रोमा १९ बल खेली २ चौका प्रहार गरी १९ रनमा अविजित रहिन् । एलिसा यादव शून्यमा रनआउट भइन् । रचना चौधरी २ रनमा अविजित रहिन् । मनिषाले आफ्नो पहिलो ओभरमा सनसनी बलिङ गरेपछि नेपालले थाइल्यान्डको ब्याटिङलाई नियन्त्रणमा राखेको थियो । खेलको सातौं ओभरमा मनिषाले आफ्नो पहिलो बलमा ओपनर अफिसारा सुवानचोनराथीलाई १७ रनमा एलबीडब्लु आउट गरेकी थिइन् । त्यसको तीन बलपछि उनले नटाकान चानथामलाई पनि शून्यमा एलबीडब्लूकै धरापमा पारेकी थिइन् ।
मनिषाको सोही ओभरको अन्तिम बलमा मनिषाले कप्तान नारुइमोल चाइवाईलाई डाइरेक्ट हिटमा शून्यमा रनआउट गरेकी थिइन् । मनिषा यतिमै रोकिइनन् । यसै शृंखलाबाट महिला ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेकी मनिषाले थाइल्यान्डकी प्रमुख ब्याटर नानापात कोन्चारोइनकाइलाई १९ रनमा आउट गरिन् । यसै शृंखलाको पहिलो दुई खेलमा नेपाल र नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएकी कोन्चारोइनकाइले २३ बल खेली २ चौका प्रहार गरिन् ।
मनिषाको उत्कृष्ट प्रदर्शनपछि थाइल्यान्ड १३ ओभरमा ५६–६ को स्थितिमा पुगेको थियो । तर थिपताचा पुथावोङ र चानिदा सुथिरुएङले सातौं विकेटमा ४३ बलमा ५० रनको अविजित साझेदारी गरेका थिए । पुथावोङ ३१ बल खेली १ चौका प्रहार गरी २५ र सुथिरुएङले २८ बल खेलि १ चौका प्रहार गरट्ठ २७ रन बनाई अविजित रहिन् ।
नेपालले रचनालाई ‘डेब्यु’ गर्न दिएको थियो । मलेसियामा हालै सम्पन्न आईसीसी यू-१९ विश्वकपमा राम्रो प्रभाव पारेकी रचनालाई कविता कुँवरको स्थानमा ल्याइएको थियो । कविता शृंखलाको दोस्रो खेलमा ढाँडमा चोट बोकेर प्रतियोगिताबाट बाहिरिएपछि रचनालाई नेपाली महिला टोलीमा समावेश गरिएको थियो । रचनाले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन् । त्यस्तै रोमालाई नेपालले भेट्रान सीता रानामगरको स्थानमा खेलाइएको थियो । सीताले नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा ५ विकेट लिनुका साथै अविजित १० रन बनाएकी थिइन् ।