काठमाडौँ, १८ मङ्सिरः प्रियंका कार्की स्टारर हरर फेमिली ड्रामा ‘मम्मी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै २५ माघमा फिल्म देशब्यापी प्रदर्शन हुने जनाएका छन् । यसअघि ‘क्राइम प्याट्रल’ टिभी सिरिजको लेखन तथा निर्देशन गरेका समर निरौलाको यो डेब्यु निर्देशकीय प्रोजेक्ट हो । नेपाली समाजमा दबिएर रहेको कथालाई आफूले कथामार्फत प्रस्तुत गरेको उनले बताए ।
‘हामी सांस्कृतिक रुपमा दबिएर बसेका छौं । भन्न खोजेको कुरा पनि भन्न सक्दैनौं । मान्छे मर्दा पनि १३ दिनको क्रिया हुन्छ । तर, दबिएको कुरा बाहिर ननिस्किँदा यसको प्रभाव भिन्न हुन्छ’ फिल्मको आइडियाबारे उनले भने ।
पोस्टरसँगै निर्माताले कथा सारांश पनि सार्वजनिक गरेका छन् । जसअनुसार, मायालु घरपालुवा कुकुर गुमाएपछि सपनाकी छोरीले घरमा कालो बिरालोलाई पाल्न ल्याउँछिन् । कालो बिरालाको प्रवेशसँगै घरमा अदृश्य शक्तिले राज गर्न थाल्छ र अनपेक्षित घटना हुन थाल्छन् ।
यो समस्या समाधान गर्न मुख्य पात्रले गर्ने संघर्षको कथा ‘मम्मी’ हो । पूर्णिमा जोशीसँग मिलेर निरौलाले पटकथा लेखेका हुन् । निशल पौडेल र शरद महतोको छायांकन, सुरेन महर्जनको सम्पादन छ । लोकराज जोशी र पूर्णिमा जोशी निर्माता हुन् । फिल्ममा प्रियंकासहित दीया मास्के, सुलक्षण भारती, समीप निरौला, जेभिस श्रेष्ठ, आयुशी ढकालको अभिनय छ । सो–ट्वान्टी फाइभको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।