01/11/2026, 03:24:43
शनिबार, पुष २६, २०८२

दरबार हाईस्कुलको फर्किएको वैभव


काठमाडौँ, पुस २६ : काठमाडौंको रानीपोखरीछेउमा पूर्व फर्किएर सेतो रङमा टक्क उभिएको छ, एउटा भव्य भवन । जसले नेपालको शैक्षिक क्षेत्रको गौरव र वैभवपूर्ण इतिहास बोक्छ । मुलुकमा शिक्षाको पहिलो उज्यालो दिने दरबार हाईस्कुलले १ सय ७२ वटा हिउँद र बर्खा पार गरिसक्यो ।

२०७२ को भुइँचालोमा भौतिकसँगै शैक्षिक रूपमा पनि ढलेको विद्यालयले पुनर्जीवन पाएसँगै फेरि ज्ञान, सीप र चेतना बाँड्ने आफ्नो उद्देश्यमा तंग्रिँदै गएको छ । भवनसँगै पठनपाठनको तौरतरिकामा गरिएको सुधारले अभिभावकको पनि रोजाइ बन्न थालेको छ, दरबार हाईस्कुल ।

असोज १९१० मा नेपालकै सबैभन्दा पहिलो विद्यालयको जन्म भएको थियो । जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि दरबार हाईस्कुल  स्थापना गरेका थिए । राणा सन्तानहरूका लागि खोलिएको थियो उक्त विद्यालय । राणा परिवारको सेवामा खटिने कामदारले सन्तानलाई १९३३ सालदेखि त्यहाँ पढाउन पाए । १९५७ सालमा देवशमशेर प्रधानमन्त्री भएपछि त्यहाँ सर्वसाधारणले पनि पढ्न पाउने व्यवस्था गरियो । राणाका दरबारको भुइँतलामा स्कुल खुलेका कारण ‘दरबार हाईस्कुल’ भन्ने गरिएको थियो ।

प्रजातन्त्र स्थापनापछि एकातर्फ सामुदायिक विद्यालयको घट्दो साख, अभिभावकको अविश्वास र अर्कोतर्फ फस्टाउँदा निजी विद्यालयको मारमा मध्य सहरमा रहेको दरबार हाईस्कुल पर्दै गयो । भुइँचालोले भवन ढालेपछि ७६ विद्यार्थी लिएर अस्थायी टहरोमा खुम्चिएको माध्यमिक विद्यालय यतिबेला भने विद्यार्थी बढाउँदै चम्कँदै आएको छ । निजी छाडेर यस सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको लर्को छ । विद्यालय प्रशासनका अनुसार यहाँ ११ सय विद्यार्थी अध्ययनरत छन् । त्यति नै विद्यार्थी भर्ना नपाएर फर्किए ।

काठमाडौंका नाम चलेकादेखि मध्यम र सामान्य सबै स्तरका निजी विद्यालयका विद्यार्थीको रोजाइमा दरबार हाईस्कुल पर्न थालेको यहाँका शिक्षक बताउँछन् । मध्यम वर्गीय परिवारका छोराछोरीले पनि भर्ना हुने चाहना राख्न थालेका छन् ।

भूकम्पले भवन ढालेपछि विद्यार्थी अभावको संकट खेपेको यस विद्यालयले पुनर्निर्माणपछि भने तंग्रिन थालेको छ । प्रधानाध्यापक शारदाकुमारी पौडेल लोभलाग्दो भौतिक संरचना, गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप, क्षमतावान शिक्षकका कारण विद्यालयप्रति विश्वास बढ्दै गएको दाबी गर्छिन् ।

हाईस्कुलमा विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, चमेनागृह छन् । कक्षाकोठाभित्र टेबल, कुर्सीजस्ता पूर्वाधार पनि आकर्षक र व्यवस्थित छन् । डिजिटल माध्यमबाट पढाउने व्यवस्था छ ।

शैक्षिक पूर्वाधारको पर्याप्तताले पठनपाठनको स्तर उकास्न सहज बनाएको अनुभव प्रअ पौडेलले सुनाइन् । यहाँ अतिरिक्त क्रियाकलाप पनि भइरहन्छ । विद्यार्थीको चाप बढेपछि विद्यालय प्रशासनले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्नेबारे छलफल चलाइरहेको छ । विद्यालयले गुमेको वैभव फर्काउँदै गएकामा प्रधानाध्यापक पौडेल खुसी छिन् ।

२०८१ देखि दरबार हाईस्कुल कक्षा १२ को परीक्षामा पनि सहभागी हुन थालेको छ । पछिल्ला वर्षहरूमा एसईईमा ९८ प्रतिशत र कक्षा ८ का पालिकास्तरीय परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुँदै आएको विद्यालयले जनाएको छ । प्रअ पौडेलले भनिन्, ‘विद्यार्थी संख्या अझै वृद्धि गर्न चाहन्छौं । तर पर्याप्त मात्रामा भवन र कक्षाकोठा अझै छैनन् ।’ वैकल्पिक भवन र कक्षाकोठा थप नभएसम्म विद्यार्थी संख्या ११ सयभन्दा बढाउन नसकिने विद्यालयले जनाएको छ ।

तल्लो कक्षामा विद्यार्थीको चाप बढेपछि स्तर मापन परीक्षा (प्रवेश परीक्षा) लिएर मात्र विद्यार्थी भर्ना लिइन्छ । ‘शैक्षिक गुणस्तर र नतिजा सुधार गर्न उपचारात्मक शिक्षण विधि लागू गरिएको छ,’ प्रअ पौडेलले भनिन् । विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लम्सालले महानगरको सहयोग, नीति तथा कार्यक्रम, प्रधानाध्यापक, शिक्षकहरूको सामूहिक सक्रियताले स्कुलले फड्को मारेको बताए ।

गुणस्तर र विद्यार्थी संख्याको हिसाबले राष्ट्रियस्तरको उत्कृष्ट विद्यालय बनाउने योजना भए पनि भवन र कक्षाकोठाको सीमितताले असहज भएको उनले जनाए । ‘विद्यालय नाजुक अवस्थामा थियो । २०७२ को भूकम्पमा भवन भत्केपछि अवस्था झनै बिग्रियो,’ उनले थपे, ‘चीन सरकारले विद्यालय भवन पुनर्निर्माण गरिदियो । आकर्षक भवनमा शैक्षिक गतिविधि पनि उत्कृष्ट हुन थाल्यो ।

खुला प्रतिस्पर्धाबाट विद्यालयको नेतृत्वमा प्रअ पौडेल आएपछि गुमेको विरासत फर्काउन सफल भएको देखिन्छ । ‘निजी विद्यालयका जगजगीबीच विरासत कायम गर्नु चुनौतीपूर्ण थियो । प्रअ पौडेलको नेतृत्वमा शिक्षकहरूको टिमले सुधार सम्भव गराएको हो,’ व्यवस्थापन समिति सदस्य लम्सालले भने ।

आम सामुदायिक विद्यालय जस्तै दरबार हाईस्कुलले विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी भने प्राप्त गर्न सकेको छैन । विद्यालयका अनुसार २४ जना दरबन्दीका शिक्षक छन् । आन्तरिक स्रोतबाट विज्ञान, कम्प्युटर, ईसीडी शिक्षक, सरसफाइ कर्मचारी र खेल प्रशिक्षक राखिएको छ । ‘शिक्षक दरबन्दी, भवन र कक्षाकोठाको अभाव मुख्य समस्या छ । अझै सुधार गरेर अब्बल बनाउन खोज्दै छौं,’ लम्सालले भने ।

– सुदीप कैनी