काठमाडौँ, पुस २६ : देशका उत्कृष्ट सामुदायिक विद्यालयको सूचीमा काठमाडौंका ज्ञानोदय माध्यमिक विद्यालय बाफल र विश्व निकेतन मावि त्रिपुरेश्वरको नाम सदैव अग्रस्थानमा आउँछ । अभिभावकको विश्वास, विद्यार्थीको भरोसा जितेर गुणस्तरमा अब्बल दुई विद्यालयको सफलताको कथा लोभलाग्दो छ ।
२००७ मा प्रजातन्त्र प्राप्तिसँगै फक्रन पाएका थिए यी विद्यालय । सामुदायिक विद्यालयमध्येमा अब्बल ठहरिएका यी विद्यालयले प्रतिस्पर्धामा सधैं आफूलाई झन् खरो र दरो साबित गर्दै आएका छन् ।
२०२० मा काठमाडौंको बाफल/पुरानो कालीमाटी क्षेत्रमा नेवार समुदायको घरघर सर्दै–सर्दै एउटा शिक्षालय सञ्चालन हुँदै थियो । जसले २०२९ मा पुरानो कालीमाटीमा ज्ञानोदय विद्यालयको आकार लियो । स्थानीय प्रेमबहादुर राजथलाको अगुवाइमा प्राथमिक विद्यालयको शिलान्यास गरियो ।
सोही विद्यालयले २०३६ मा प्रस्तावित माविका रूपमा स्वीकृति पायो । त्यस्तै २००३ मा न्युरोडमा स्थापित र २००९ मा त्रिपुरेश्वर जुद्धघाटमा स्थानान्तरण भएको विश्व निकेतन मावि आफ्नै लयमा थियो । विश्व निकेतनलाई अब्बल बनाउन लागिपरेका थिए– सहायक प्रधानाध्यापक रेवरत्न बज्राचार्य ।
प्रस्तावित मावि बनेसँगै बज्राचार्यलाई ज्ञानोदयले प्रधानाध्यापकमा नियुक्त गर्यो । २०३७ को अन्त्यतिर पर्वतबाट धनञ्जय शर्मा पनि सरुवा भएर ज्ञानोदय आए । उनी पर्वतमा प्रधानाध्यापक भइसकेका थिए । बज्राचार्य र शर्माको सबल नेतृत्वमा ज्ञनोदयले विशिष्ट पहिचान बनाएको अभिभावकहरू बताउँछन् ।
बज्राचार्यपछि २०५० देखि २०७० सम्म शर्मा प्रअ बने । आफूभन्दा अघि १४/१५ वर्ष प्रअ भएका बज्राचार्यले ज्ञनोदयमा शैक्षिक गुणस्तरको जग हालेको शर्मा बताउँछन् । ‘हामी आउँदा ज्ञानोदयमा विद्यार्थी संख्या कम थियो । आर्थिक अभावमा विद्यालय जुधिरहेको थियो,’ शर्मा भन्छन्, ‘गुणस्तरको जग रेवरत्न बज्राचार्यले थाम्नुभएको हो । तर त्यसको परिणाम दिन सकेको थिएन । २०५१/०५२ देखि विद्यालयमा चामत्कारिक सुधार देखिन थाल्यो । त्यो सबै २०३६/०३७ सालदेखि गरिएको मिहिनेत र लगानीको परिणाम थियो ।’

शैक्षिक गुणस्तरमा सुधार ल्याउन सानो कक्षा (जग) देखि नै मिहिनेत र लगानी गर्नुपर्ने उनको धारणा छ । ‘सानो कक्षामा नै धेरै बल गर्यौं । प्रत्येक कक्षा रमाइलो बनाउन थाल्यौं । बालबालिकालाई विद्यालय जाउँ–जाउँ लाग्ने बनाउन पहल गर्यौं । विद्यालयले आफ्नै स्रोतबाट शिक्षक तालिम सञ्चालन गर्यौं,’ उनले भने, ‘राम्रो सिकाइ पाएका कक्षा १–३ का विद्यार्थी एसईईमा पुग्दा चामत्कारिक सुधारिएको नतिजा देखियो ।’
तल्लो कक्षाबाटै शिक्षण सिकाइमा सुधार गर्न पूर्वप्राथमिक कक्षा सञ्चालन गरिएको उनले स्मरण गरे । त्यतिबेला पूर्वप्राथमिक कक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालय सीमित थिए । तर, ज्ञानोदयले आफ्नै स्रोत र योजनामा कक्षा १ अघि नै विद्यार्थीलाई सिकाइका लागि तयार पार्थ्यो ।
‘ज्ञानोदय २०५१ देखि देशभरिमै टप विद्यालयको गन्तीमा आउन थाल्यो । शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर आफ्नो ब्रान्ड बनायो,’ उनले सम्झिए, ‘त्यसपछि नै हो विद्यार्थी थेगिनसक्नु भर्ना हुन थालेको, निजी विद्यालय छाडेर विद्यार्थी ओइरिएको ।’
ज्ञानोदयमा अहिले ४ हजार ६ सय विद्यार्थी छन् । पूर्वप्राथमिक तह ईसीडीमा मात्र ३ सय छन् । शिक्षा मन्त्रालयका अनुसार देशभरकै धेरै विद्यार्थी अध्ययन गर्ने १० विद्यालयभित्र ज्ञानोदय पर्छ । ‘जगको सिकाइ नै बलियो बनाएका विद्यार्थी एसईई पुग्दा नसोचेको नतिजा देखिन थाल्यो । प्रायः शतप्रतिशत विद्यार्थी पास हुन थाले । यसले अभिभावकको विश्वास बढायो । विद्यार्थीको आकर्षण चुलिँदै गयो,’ पूर्व प्रअ शर्माले भने । विद्यालयले महायज्ञ लगाएर रकम संकलन गरी भौतिक पूर्वाधारमा पनि सुधार गरेको थियो ।

प्रधानाध्यापकको कुशल नेतृत्व र अभिभावकको सकारात्मक सहयोगले मात्र सामुदायिक विद्यालयले सफलता हात पार्न सक्ने उनले बताए । उनले थपे, ‘शिक्षकको टिमले मात्र विद्यालयलाई सुधार गर्न सक्छ । प्रअ नै सबै थोक हो । विद्यालय राम्रो बनाउन ऊ व्यवस्थापक हुन्छ । योजना र मिहिनेत गरे उसले सफलतामा पुर्याउँछ ।’
प्रअ र शिक्षकले राजनीतिक पूर्वाग्रह राख्न नहुने उनको सुझाव छ । समाज र अभिभावकले शिक्षकलाई उत्प्रेरणा दियो भने ऊर्जा प्राप्त गर्ने उनले बताए । ‘शिक्षकलाई मानसम्मान दिनुपर्छ । त्यसो भयो भने खट्छन्,’ उनले भने, ‘प्रअले पक्षपात र राजनीतिक विभेद नगरी टिम बनायो भने सामुदायिक विद्यालय सुध्रन्छ ।’
शर्मा २०७० मा अवकाश भए । त्यसपछि प्रअ नातिकाजी महर्जनले ज्ञानोदयको विरासतलाई कायम राख्दै अघि बढाए । अहिले विद्यालयले महिला प्रअ पाएको छ । विष्णु घिमिरे रिमालले नेतृत्व गर्दै विद्यालय हाँकेकी छन् । १६० जना शिक्षक, कर्मचारी छन् । अंग्रेजी माध्यममा पनि पठनपाठन हुन्छ । कक्षा ११–१२ मा सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, कानुन, कम्प्युटर, होटल म्यानेजमेन्ट लगायतका विषय पठनपाठन गराइन्छ ।
सीमित जग्गा-जमिन र भवनका कारण विद्यालयलाई थप विस्तार गर्न नसकिएको प्रअ रिमालले गुनासो गरिन् । ‘दुई हजार बढी विद्यार्थी भर्ना हुन आउँछन् । भवन नहुँदा साढे ५ सय मात्र भर्ना लिन सक्यौं,’ उनले भनिन्, ‘पढ्न चाहने सबैलाई पढाउन सकेनौं ।’ कक्षाकोठा कम्ती रहेकै कारण एउटै कक्षामा ५० भन्दा बढी विद्यार्थी राखेर अध्यापन गराउनुपरेको उनले सुनाइन् । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कक्षा सञ्चालन गरिन्छ ।
२०५८ सम्म सदर सामुदायिक विद्यालयजस्तै थियो विश्व निकेतन मावि । विद्यार्थी संख्या घटेर ९ सयमा खुम्चिएको थियो । २०४५/०४६ मा २ हजार ३ सय रहेको विद्यार्थी संख्या निरन्तर ओरालो लाग्दै थियो । विद्यार्थी, अभिभावकको आकर्षण निजी विद्यालय र त्यहाँ पढाइ हुने अंग्रेजी भाषामा बढ्दो थियो । त्यही बेला विद्यालयले जुक्ति निकाल्यो । अंग्रेजी माध्यममा पनि पठनपाठन थाल्ने । साबिकको उमावि (कक्षा ११/१२) तर्फ २०६२/०६४ देखि नै उत्कृष्ट विद्यालयको परिचय बन्दै थियो । सँगैसँगै एसईईको नतिजामा पनि विश्व निकेतनले आफूलाई सुधार गर्दै लग्यो ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारको केन्द्रमा छन् प्रअ हेरम्बराज कँडेल । २०७२ मा कँडेल प्रअ नियुक्त भए । त्यसअघि कँडेल २०५१ देखि सोही विद्यालयमा विज्ञान विषयका शिक्षक थिए । सोही वर्षको एसईईमा दुई छात्र सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट बनेपछि अब्बल ठहरिएको विद्यालय पछाडि फर्किनुपरेको छैन ।
नतिजामा एकपछि अर्को रेकर्ड ‘ब्रेक’ गर्दै विद्यालयले सरकारबाट पदक र पुरस्कार हात पार्दै आएको छ । २०७४, २०७५ र २०८१ मा गरी विद्यालयले तीन पटक राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरिसकेको छ । एसईईमा विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएपछि विद्यालयले उक्त पुरस्कार प्राप्त गरेको थियो । कक्षा १२ तर्फ पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।
१९ माघ २००३ मा सरस्वती पूजाका दिन न्युरोडको एक निजी घरमा विद्यालयको स्थापना गरिएको थियो । प्रअ कँडेलका अनुसार स्थानीय शिक्षासेवी नरमान श्रेष्ठको अगुवाइमा ईश्वरीलाल श्रेष्ठ र प्रेमलाल श्रेष्ठको सहयोगमा विश्व निकेतनलाई त्रिपुरेश्वर जुद्धघाटमा स्थानान्तरण गरियो । सरकारले विद्यालयको मान्यता दियो ।

कक्षा १ देखि १२ सम्म ४ हजार ४ सय विद्यार्थी अध्ययन गर्छन् । ईसीडीदेखि कक्षा १० सम्म १ हजार ८ सय र कक्षा ११–१२ मा २ हजार ६ सय विद्यार्थी रहेका छन् । शिक्षक र कर्मचारी गरेर १६० जना कार्यरत छन् । ६२ जना शिक्षक कर्मचारीका लागि संघीय र स्थानीय सरकारबाट अनुदान आउँछ । बाँकी खर्च आन्तरिक स्रोतबाट गरिन्छ ।
विद्यालयमा भर्ना हुन तीव्र प्रतिस्पर्धा हुन्छ । चालु शैक्षिक सत्रमा कक्षा १–१० मा भर्ना हुन ४ हजारले प्रवेश परीक्षा दिएका थिए तर ४ सय ७५ जनाले मात्र भर्ना पाएको तथ्यांक छ । कक्षा ११–१२ का लागि ६ हजार प्रवेश परीक्षामा सहभागी थिए । १ हजार ३ सयले मात्र भर्ना पाए । २०६२ र २०६५ मा साबिकको उमावि शिक्षा परिषद्बाट क्षेत्रीय पुरस्कार प्राप्त गरेको विद्यालयले २०८१ मा समेत उत्कृष्ट विद्यालयका रूपमा सरकारबाट पदक र पुरस्कार प्राप्त गर्यो ।
विद्यालय सुधारका लागि गुरुयोजना लागू गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड लगायत राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा पनि विश्व निकेतन विजेता बन्दै आएको छ । २०८० को रनिङ शिल्ड, राष्ट्रव्यापी विद्यालय तेक्वान्दो च्याम्पियनसिप २०८० को विजेतासमेत हो विश्व निकेतन ।
विद्यालयले एकपछि अर्को सफलता प्राप्त गर्दै आए पनि त्यसलाई टिकाइराख्न चुनौतीपूर्ण रहेको प्रअ कँडेल बताउँछन् । ‘पर्याप्त कक्षाकोठा छैन । एउटै कोठामा ७०/७५ जना विद्यार्थी राखेर पढाउँदै आएका छौं,’ उनले भने, ‘४/५ हजार विद्यार्थीले प्रवेश परीक्षा दिन्छन् । मुस्किलले ५ सयदेखि १ हजार २ सयसम्म मात्र भर्ना लिन सक्छौं ।’
जग्गा र भौतिक पूर्वाधार अपुग हुनु नै मुख्य समस्या रहेको उनले गुनासो गरे । ‘कक्षा ११ र १२ मा २ हजार ४ सय विद्यार्थी छन् । सरकारले ३ वटा मात्रै दरबन्दी दिएको छ,’ उनले भने, ‘आर्थिक रूपमा पनि सबल हुन सकेका छैनौं । अभिभावकले प्राविधिक धार विस्तार गर्न माग राख्दै आएका छन् ।’ १० रोपनी जग्गामा सञ्चालित विद्यालयले शैक्षिक क्रियाकलाप सञ्चालन गर्न असहज भएपछि बागमती बगरको १८ रोपनी खाली जग्गा पनि भोगचलन गर्दै आएको छ । तर थप विस्तार गर्न आफ्नै जग्गा छैन ।
प्रअ कँडेलले शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक मिहिनेतले सफलता हात पार्दै विद्यालय अघि बढेको जनाए । ‘विद्यालय प्रशासन, अभिभावक, शिक्षक, विद्यार्थीको सम्बन्ध सुमधुर हुनुपर्छ,’ उनले भने, ‘कक्षाकोठामा घोकाएर पढाउँदैनौं । जीवन उपयोगी शिक्षा, नवीनतम विधि, परियोजना कार्य, टिम वर्कले सफलता मिलेको जस्तो लाग्छ ।’
उनका अनुसार शिक्षकलाई जिम्मेवारी बाँडफाँट गरिएको छ । बस व्यवस्थापन, सरसफाइ, दिवा खाजा व्यवस्था, बिहान–बेलुका उपचारात्मक कक्षालगायतका गतिविधिमा शिक्षकलाई जिम्मेवारी तोकिन्छ । शनिबार बाहेकका धेरैजसो सार्वजनिक बिदाका दिनमा पनि विद्यालय सञ्चालन हुन्छ । शिक्षकका छोराछोरीलाई सोही विद्यालयमा पढाउन प्रोत्साहन गरिँदै आएको छ ।
गायिका तारादेवी, गायक प्रेमध्वज प्रधान, शिक्षाविद् केदारभक्त माथेमा, मुटु रोग विशेषज्ञ अरुण सायमी लगायत प्रख्यात व्यक्तिहरू विद्यालयका पूर्वविद्यार्थी हुन् । २०१५ मा विश्व निकेतनबाट एसएलसी गरेका माथेमा पछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति, जापानको राजदूतसम्म भए । ‘लामो टहराभित्र स्कुल थियो । हामी पढ्दा पुस्तकालय, ल्याब, शिक्षण सामग्री देख्न पाइएन । खेलकुदका लागि सामग्री थिएनन्,’ माथेमाले स्मरण गरे, ‘धनी, गरिब सबैका छोराछोरी एउटै कोठामा भेटिन्थे । समाजको चित्र कक्षाकोठामा थियो ।’
व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठले अभिभावक र शिक्षकको दरिलो सम्बन्ध र सम्पर्कले विद्यालयलाई अब्बल बनाउन सम्भव भएको जनाए । ‘विद्यालयभित्र राजनीति छिर्न दिएका छैनौं । अभिभावक र शिक्षक विद्यालय सुधारमा प्रतिबद्ध हुनुहुन्छ,’ उनले भने ।
– सुदीप कैनी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















