जेरुसेलम, मङ्सिर १० गते । इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा नयाँ ‘आतङ्कवाद विरोधी’अपरेसन सुरु गरेको घोषणा गरेको छ । सेनाले जारी गरेको संयुक्त विज्ञप्तामा सो कारबाहीलाई ‘उत्तरी सामरिया’ भनिने क्षेत्रमा सञ्चालन गरिएको व्यापक सुरक्षात्मक पहलको एक महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरिएको छ ।
सैन्य अधिकारी तथा आन्तरिक सुरक्षा सेवाबाट जारी गरिएको उक्त विज्ञप्तामा वेस्ट बैंकका केही भागका लागि प्रयोग हुने बाइबलीय शब्दसमेत उल्लेख गर्दै कारबाही औपचारिकरूपमा प्रारम्भ भएको पुष्टि गरिएको छ । एएफपीको लिखित जिज्ञासाको जवाफमा इजरायली सेनाले यो अपरेसन पूर्णतः नयाँ रहेको र सन् २०२५ जनवरीमा सुरु गरिएको पहिलेको आतङ्कवाद विरोधी अभियानको निरन्तरता नभएको स्पष्ट पारेको छ ।
सो पुरानो अपरेसन मुख्यतः प्यालेस्टिनी शरणार्थी शिविरलाई लक्षित गर्दै आएको थियो । सन् १९६७ देखि इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा सन् २०२३ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमणपछि सुरु भएको गाजा युद्धले हिंसा झनै चर्किएको छ । यद्यपि गाजामा अक्टोबर १० देखि लागू भएको नाजुक युद्धविराम अहिले पनि औपचारिकरूपमा कायम भए पनि वेस्ट बैंकमा हिंसात्मक गतिविधि रोकिएको छैन ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा आधारित एएफपीद्वारा सङ्कलित विवरणअनुसार गाजा युद्ध सुरु भएयता वेस्ट बैंकमा इजरायली सेना वा इजरायली बसोवासीद्वारा एक हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ । तीमध्ये धेरै जना सशस्त्र समूहका सदस्य भए पनि ठूलो सङ्ख्यामा सर्वसाधारण नागरिक पनि मारिएका छन् । उता, आधिकारिक इजरायली विवरणअनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमण तथा इजरायली सैन्य कारबाहीका क्रममा सैनिक र नागरिक गरी कम्तीमा ४४ इजरायलीले ज्यान गुमाएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















