11/27/2025, 02:00:39
बुधबार, मङि्सर १०, २०८२

परम्परागत खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा


म्याग्दी (बेनी), मङ्सिर १०  गते ।  म्याग्दीको मङ्गला गाउँपालिका–४, अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् ।

गहुँ, मकै र कोदो बाली लगाउने बारीमा स्थानीयले नगदे बालीका रूपमा सुन्तलाखेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । उत्पादन भएको सुन्तला बोटबाटै बिक्री हुने र खेती गर्न पनि झन्झटिलो नहुने भएपछि परम्परागत अन्नबालीको विकल्पमा सुन्तला खेतीलाई अघि बढाइएको स्थानीय योगेन्द्रमान शेरचनले जानकारी दिनुभयो ।

शेरचनले करिब सात रोपनी बारीमा कोदो र मकै खेती छाडेर सुन्तला विस्तार गर्नुभएको छ । चार सय ५० बोट सुन्तला रोप्नुभएकामा अहिले एक सय ५० बोटबाट सुन्तला उत्पादन हुन थालेको उहाँले बताउनुभयो ।

सिँचाइको सुविधा नभएको बारीमा अन्नबाली छाडेर सुन्तलाखेती विस्तार गरेपछि आयआर्जनमा टेवा पुग्न थालेको छ । अर्भल्याङ बस्तीका अधिकांश घरपरिवारले सुन्तला खेती विस्तार गर्न थालेका छन् । अन्नबालीको विकल्पमा सुन्तलाखेती विस्तार गर्न थालेपछि गाउँ नै सुन्तला गाउँका रूपमा विकास हुन थालेको छ ।

स्थानीय लालमती रोका, प्रासर कँडेल, कलाधर कँडेल, केसमान शेरचन, पदमबहादुर रोका, यामबहादुर रोका, भबिलाल किसान, नन्दलाल विकलगायतले सुन्तलाखेतीलाई व्यावसायिक बनाउनुभएको छ ।

पछिल्ला केही वर्षयता मात्र गाउँमा करिब दुई हजार नयाँ सुन्तलाका बोट रोपिएको छ । उत्पादन भएको सुन्तलाको बजार अभाव नहुने र बोटबाटै बिक्री हुने सुविधाले सुन्तला खेतीतर्फ आकर्षण बढाएको छ । स्थानीय अगुवा सुन्तलाखेती किसान लालमती रोकाले आफ्नो बगैँचाका २५० बोटले उत्पादन दिने र थप ८० बोट सुन्तला विस्तार गरेको जानकारी दिनुभयो ।

उहाँले यस वर्ष बगैँचामा फलेका सुन्तला खरिदका लागि व्यवसायीले बगैँचामै आएर ठेक्का लिएको दिनुभयो । “गत वर्ष हाँगा नै भाचिने गरी सुन्तला फलेको थियो, प्रतिकिलो ५५ मा सुन्तला बेचेका थियौँ, यो वर्ष एक क्यारेट सुन्तलालाई एक हजार ५०० मा लैजाने समझदारी भएको छ”, उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन केही घटेको छ । रोकाको परिवारले गत वर्ष चार लाख बराबरको सुन्तला बिक्री गर्नुभएको थियो ।

यस गाउँमा सुन्तला खेती विस्तारका लागि किसानले ‘सोलिघोप्टे कृषक समूह’ मा आबद्ध भएर सुन्तलाको व्यावसायिक खेती विस्तारमा लागेका छन् । सुन्तला खेतीबाट नगद आम्दानी हुने भएपछि उत्साहित बनेर अघि बढेका किसानलाई सुन्तलाका बोट सुक्ने समस्या प्रमुख चुनौती बनेको छ । फल लागेका र नयाँ विस्तार गरेका सुन्तलाका बोट सुक्ने समस्या देखिएको र यसको रोकथाम र उपचारका लागि गाउँपालिकालाई अनुरोध गरिएको स्थानीय किसान प्रासर कँडेलले बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..