हङकङ, असोज ८ गते । सुपर टाइफुन रागासाले ताइवानमा दशकौँ पुरानो ताल फुट्दा कम्तीमा १४ जनाको ज्यान जानुका साथै १८ जना घाइते भएका छन् । आँधी दक्षिण चीनतर्फ प्रवेश गर्दा बुधबार हङकङमा भीषण हावा, मुसलधारे वर्षा र उच्च समुद्री लहरले प्रभावित भयो ।
हङकङमा धेरै ठाउँमा रूख ढले, बाढी आयो र एक उच्चस्तरीय होटलको काँचको ढोका फुटेर लबीमा पानी पस्यो । सहर अझै आँधीबेहरी-स्तरको हावाबाट प्रभावित हुने पूर्वानुमान हङकङ अब्जर्भेटरले जनाएको छ । तटीय क्षेत्रमा पानी सामान्य स्तरभन्दा तीन मिटरभन्दा माथि पुगेको छ । मकाउको क्यासिनो क्षेत्रमा पनि व्यापक बाढी देखिएपछि केही क्षेत्रमा बिजुली आपूर्ति काटिएको छ ।
उत्तरी फिलिपिन्समा रागासाले दुई जनाको मृत्यु भइसकेको छ । चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले टाइफुन गुआङडोङ प्रान्तको झुहाई र झानजियाङबिच बुधबार दिउँसो अवतरण गर्ने जनाएको छ । चीनका दक्षिणी कम्तीमा १० सहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । याङजियाङ सहरमा सडकहरू खाली देखिए भने रेल सेवा स्थगित गरिएको छ ।
-हङकङमा क्षति र तयारी-
सामाजिक सञ्जालमा प्रमाणित तस्बिरअनुसार धेरै जिल्लामा बाढी आएको छ । ओसन पार्क नजिकैको होटलमा आँधीले काँच फोड्दा पानी पसेको छ । पैदल पुलको टुप्पो भाँच्चिएको र अग्ला भवन हावाले हल्लिएका थिए । पचास अस्थायी आश्रयमा सात सय ६० जनाभन्दा बढीले शरण लिएका छन् । रेल सेवा खुला खण्डमा बन्द गरिएको छ भने भूमिगत खण्डमा सीमित सञ्चालन भइरहेको छ ।
विमानस्थलमा सयौँ उडान रद्द भएका छन्, कार्गो उडानहरू मात्रै सञ्चालनमा छन् । मङ्गलबार चाई वान जिल्लामा छाल हेरिरहेका पाँच वर्षीय बालक र उनकी आमा समुद्रमा खसेपछि गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई बचाउन दौडिएका ४० वर्षीय बुबा पनि अस्पतालमा भर्ना भएका छन् । गभर्नर र अधिकारीले भारी वर्षाले थप क्षति गर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।