07/01/2025, 00:40:14

पूर्वसांसदका अनुभव संसद्का काम कारबाहीमा जोड्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल


काठमाडौँ, १६ असार : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदमा धेरै अनुभव हुने भएकाले त्यसलाई संसद्को काम कारबाहीमा जोड्नुपर्ने बताउनुभएको छ ।

पूर्वसांसद मञ्चले ६७औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वसांसदको अनुभवले कानुन पनि राम्रो बन्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियसभाले सङ्घीयताको कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

संसद्मा हुने नीतिगत बहसमा सबै सांसदलाई समान सहभागी गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । दलीय स्वार्थभन्दा माथि उठेर सांसदले काम गर्ने वातावरण बनाउन राजनीतिक दलले सहयोग गर्नुपर्ने अध्यक्ष दाहालले बताउनुभएको थियो ।

मञ्चका अध्यक्ष एवं पूर्वसांसद ओमकार श्रेष्ठले संसद्मा हुनुपर्ने उपस्थिति र बहस हुने वातावरण अन्त्य भएकामा दुःख लागेको बताउनुभयो । मञ्चका उपाध्यक्षहरू गोविन्दबहादुर शाह, विष्णुबहादुर राउत, रामेश्वरराय यादवलगायतले संसदको भूमिका अझै प्रभावकारी बनाउन सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

सो अवसरमा पूर्वसांसद परशुराम मेघी गुरुङले संसद्बाट २०८१ वैशाखदेखि चैतसम्म भएका गतिविधिका बारेमा प्रस्तुती दिनुभएको थियो । विसं २०१६ असार १६ गते जननिर्वाचित संसद्को पहिलो बैठक बसेको सम्झनामा संसद् दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष ३० जुनका दिन मनाइने अन्तरराष्ट्रिय संसद् दिवस पनि आजै मनाइएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ