05/30/2025, 14:07:12

म्याग्देका विद्यालयमा दिवा खाजा कार्यक्रम लागू


 तनहुँ, १५ जेठः म्याग्दे गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेपछि यहाँका बालबालिका नियमित विद्यालय जान थालेका छन् । सङ्घीय सरकारको आर्थिक सहयोगमा बालविकास केन्द्रदेखि कक्षा पाँचसम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय जानेको सङ्ख्या बढेको हो ।
दिवा खाजामा पौष्टिक आहारसहितको व्यवस्था गरिएकाले कुपोषण हुने बालबालिकाको सङ्ख्यामा कमी आएको म्याग्दे शिक्षा शाखाका अधिकृत विष्णुखत्री क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यालय नजाने र गएका पनि बीचमै छाडेर हिड्ने प्रवृत्ति पनि रोकिएको छ ।” उहाँका अनुसार गाउँपालिकाभित्र रहेका २२ वटा विद्यालयमा एक हजार ७२८ जना बालबालिका दिवा खाजा कार्यक्रममा समावेश भएका छन् ।
चालु आर्थिक वर्षका लागि दैनिक रु १५ का दरले एक सय ८० दिनका लागि रु ५० लाख ८७ हजार खर्च हुने अनुमान गरिएको शिक्षा अधिकृत क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार म्याग्दे–२ स्थित राधा मावि र वडा नं ४ स्थित मिन माविले अन्य विद्यालय तुलनामा कम खर्चमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।
उहाँले भन्नुभयो, “धेरै विद्यार्थी रहेका ती दुई विद्यालयले थोरै बजेटमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने उदाहरण दिएका छन्, ती विद्यालयको गतिविधि र योजना अन्यले पनि सिक्नुपर्ने आवश्यक छ ।” 
यसवर्ष दुई विद्यालय गाभिए
चालु आर्थिक वर्षमा जिल्लाका दुई वटा विद्यालय गाभिएका म्याग्दे शिक्षा शाखाले जनाएको छ । म्याग्दे–७ स्थित बेदकालिका आधारभूत र म्याग्दे–४ मा रहेको जनप्रकाश आधारभूत विद्यालय विद्यार्थी सङ्ख्या शून्य भएपछि गाभिएको हो ।
बेदकालिकालाई सोही वडास्थित मिलीजुली आधारभूत विद्यालयमा र जनप्रकाशलाई मिन माध्यमिक विद्यालयमा गाभिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्र मावि तह छ, कक्षा १–८ सम्म चार र कक्षा १–५ सम्म १२ गरी २२ विद्यालय छन् ।


लेखकको बारेमा

रासस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ