काठमाडौँ, १४ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उहाँले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताउनुभयो ।
“आयोजना प्रमुखले कति खर्च गर्नसक्ने हो, खर्च गर्नसक्ने बजेट मात्र मागौँ, थालिएका आयोजना समयमा सम्पन्न गरौँ”, मन्त्री खड्काले भन्नुभयो । बजेटको न्यायोचित वितरण हुनुपर्ने भन्दै उहाँले मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
ऊर्जामन्त्री खड्काले मन्त्रालयभित्र हुने अनावश्यक खर्च रोक्नुपर्ने धारणा राख्दै मातहतका सबै निकाय र कर्मचारीले नतिजा देखिने गरी काम गर्नुपर्ने बताउनुभयो ।
ऊर्जा सचिव सुरेश आचार्यले राष्ट्रिय गौरवका बहुउदेश्यीय आयोजनाको सन्तोषजनक प्रगति हुन नसकेको बताउनुभयो । उहाँले आगामी आवको बजेट तथा कार्यक्रमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै विनियोजित बजेट कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्ने उहाँको भनाइ छ ।
सचिव आचार्यले सरकारले भर्खरै ल्याएको ऊर्जा विकासका लागि मार्गचित्रको लक्ष्यलाई हासिल गर्न बजेटको अपर्याप्तता रहेको भन्दै बजेटको सिलिङ बढाउन मन्त्रालय प्रयासरत रहेको बताउनुभयो ।
सिँचाइ सचिव सरिता दवाडीले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउँदा एउटा आयोजनामा खर्च हुन नसकेको बजेट अर्को आयोजनामा लगाउने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भूमिगत सिँचाइलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै किसानका खेतमा पानी पुगेपछि मात्र सिँचाइको उपदेहिता देखिने उहाँको भनाइ थियो ।बताउनुभयो ।
सचिव दवाडीले आगामी आवका लागि चालु आवभन्दा कम बजेटको सिलिङ प्राप्त भएको भन्दै यसलाई बढाउन मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।