काठमाडौँ, १६ माघः नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफ्नो टोली सन्तुलित रहेकाले बिहीबारदेखि सुरु हुने त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट श्रृंखला जित्ने दाबी गरेकी छिन् ।
नेपालले बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित ट्वान्टी-२० क्रिकेट श्रृंखला खेल्दैछ । प्रतियोगिताअगाडि बुधबार कप्तानसँग भएको पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान इन्दुले भर्खर प्रधानमन्त्री कप क्रिकेट खेलेका खेलाडी र यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका नेपालकी कप्तान पूजा महतोसँगै दुई खेलाडी रहेकाले आफ्नो टोली सन्तुलित रहेको बताइन् । पूर्ण सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने उनको विश्वास छ ।
नेपालकी कप्तान इन्दुले ब्याटिङमा सुधार गर्नका लागि पनि यो श्रृंखला धेरै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । महिला क्रिकेटमा पनि मैदानसम्म आएर हौसला बढाउन कप्तान इन्दुले आह्वान गरिन् । घरेलु मैदानमा हुन लागेकाले आफूहरूका लागि केही सहज हुने पनि उनको आशा छ ।
उनले नेपालको यू–१९ महिला टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरेर फर्किएको उल्लेख गर्दै यो सिनियर स्तरको ब्याक अप रहेको बताइन् । नेपालले बिहीबार नेदरल्यान्ड्सँग श्रृंखलाको पहिलो खेल खेल्दैछ ।