11/25/2025, 15:20:19
मङ्गलबार, मङि्सर ०९, २०८२

अफगानिस्तानमा पाकिस्तानी बमबारीः कम्तीमा १० जनाको मृत्यु भएको तालिबानको दाबी


काबुल, मङ्सिर ९ गते ।अफगानिस्तानका पूर्वी क्षेत्रलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । यो घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत भन्नुभयो, “पाकिस्तानी आक्रमणकारी सेनाले एक स्थानीय नागरिकको घरमा बम प्रहार गर्दा खोस्त प्रान्तमा पाँच बालक, चार बालिका र एक महिलासहित १० जनाको मृत्यु भएको छ ।” उहाँका अनुसार कुनार तथा पक्तिका सीमावर्ती क्षेत्रमा गरिएका थप आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् । पाकिस्तानी सेनाले यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

यसअघि पेशावरस्थित पाकिस्तानको अर्धसैनिक सङ्घीय कन्स्टेबुलरी बलको मुख्यालयमा लक्षित आत्मघाती आक्रमणमा तीन जना अधिकारीको मृत्यु र ११ जना घाइते भएका थिए । कुन समूह जिम्मेवार रहेको भन्ने पुष्टि नभए पनि राज्य प्रसारक पिटिभीले आक्रमणकारी अफगान नागरिक भएको रिपोर्ट गरेको छ र राष्ट्रपति आसिफ जरदारीले ‘विदेशी-समर्थित फितना अल-खवारीज’ लाई दोष लगाउनुभएको छ ।

इस्लामाबादको शब्द फिता अल-खवारिज अर्थात् तहरिक-ए-तालिबान पाकिस्तान (टिटिपी) आतङ्ककारीलाई अफगान भूमिबाट सञ्चालन गरेको आरोप लगाइएको छ । यसै महिनाको सुरुआतमा पाकिस्तानको राजधानी इस्लामाबादमा भएको अर्को आत्मघाती विस्फोटमा १२ जनाको ज्यान गएको थियो । उक्त विस्फोटको जिम्मा अफगान तालिबानसँग विचारधारा मिल्ने पाकिस्तान तालिबान (टिटिपी) नजिकको एक समूहले लिएको थियो । पाकिस्तानले उक्त आक्रमण ‘अफगानिस्तानमा आधारित हाइकमान्डद्वारा निर्देशन गरिएको’ भएको आरोप लगाएको थियो ।

-तनावग्रस्त द्विपक्षीय सम्बन्ध-

सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि पाकिस्तान-अफगानिस्तान सम्बन्ध लगातार तनावग्रस्त बनेको छ । गत अक्टोबरमा सीमाक्षेत्रमा भएको भिडन्तमा दुवै पक्षतर्फ करिब ७० जनाको मृत्यु भएपछि कतार र टर्कीको मध्यस्थतामा अस्थायी युद्धविराम भए पनि इस्तानबुलमा भएको वार्ताले स्थायी सुरक्षा समझदारी कायम गर्न सकेन । पाकिस्तानले अफगान भूमिमा टिटिपीलाई सुरक्षित आश्रय दिइएको आरोप लगाइरहेको छ, तर काबुलले उक्त आरोप कडारूपमा अस्वीकार गर्दै उल्टै पाकिस्तानले अफगानिस्तानविरुद्ध शत्रुतापूर्ण समूहलाई सहयोग गर्ने गरेको प्रतिवाद गर्दछ ।

यस्तै पाकिस्तान-अफगानिस्तान संयुक्त उद्योग वाणिज्य चेम्बरले यस हप्ता हजारौँ मालबाहक कन्टेनर सीमा नाकामा रोकिँदा प्रत्येकले दैनिक १५०-२०० डलरसम्म अतिरिक्त खर्च खेप्नुपर्ने स्थिति अनुपयुक्त र ‘असहनीय’ भएको चेतावनी दिएका छन् । सम्पूर्ण घटनाक्रमले दुवै मुलुकबिचको सम्बन्ध फेरि गम्भीर तनावतर्फ फर्किएको सङ्केत गर्दछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..