बैङ्कक, असोज ८ गते । बुधबार बैङ्ककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि यातायात अवरुद्ध हुनुका साथै पूर्वाधारलाई क्षति पुर्याएको र वरपरका क्षेत्रमा खाली गराइएको छ ।
कुनै मानवीय क्षति नभएको तर तीनवटा गाडी क्षतिग्रस्त भएको बैङ्ककका गभर्नर चाडचार्ट सिटिपुन्टले बताउनुभयो । उहाँले यसलाई भूमिगत रेल स्टेशन निर्माण कार्यसँग जोडेर दुर्घटनाको कारण हुनसक्ने बताउनुभयो ।
दुर्घटनाको भिडियोमा सडक क्रमशः भासिँदै बिजुलीका खम्बा ढल्दै र पानी पाइप फुटेको देखिन्छ । चार लेनको सडक पूर्णरूपमा अवरुद्ध भएपछि कारहरू पछि हट्न बाध्य भएका छन् । खाडलको किनारा भूमिगत संरचना उजागर गर्दै प्रहरी चौकीको अगाडि नै रोकिएको छ ।
नजिकैको अस्पतालमा दुई दिन बहिरङ्ग सेवा (ओपिडी) बन्द हुने घोषणा गरिएको छ । यद्यपि भवनको संरचनामा असर नपरेको बताइए पनि प्रहरी चौकी र आसपासका घरहरूबाट मानिसहरूलाई बाहिर निकालिएको छ ।
क्षेत्रको बिजुली र पानी आपूर्ति पनि काटिएको छ । भारी वर्षाले थप क्षति पुर्याउन सक्ने आशङ्काबिच तत्काल मर्मत कार्य भइरहेको गभर्नर चाडचार्टले जानकारी दिनुभयो । बैङ्कक अहिले मनसुनको मौसममा छ ।