06/26/2025, 14:54:46

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण


पर्वत, १२ असार : पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ ।

चालु आर्थिक वर्ष विसं २०८१/०८२ को गाउँपालिकाको स्थानीय गाई/गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरू गर्नुभएको छ ।

चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा रु १३ लाख बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरू पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको पशु विकास अधिकृत सन्देश गौडेलले जानकारी दिनुभयो ।

प्रतिगाई रु दुई हजार र प्रतिहल गोरु रु आठ हजारका दरले अनुदान वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर तोकिएको मापदण्ड पूरा गरेका कृषकहरूलाई छनोट गरेर रकम वितरण गर्न थालेको हो ।

स्थानीय जातको गाई संरक्षण, गोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्दै खेतीपातीलाई बढवा दिन तथा जग्गा बाँझो रहन नदिनको लागि यो कार्यक्रम प्रभावकारी बनेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाभित्र गाई र हलगोरू पाल्ने कृषकको सङ्ख्या समेत बर्सेनि बढ्दै गएको छ ।

व्यावसायिक किसानलाई गाउँपालिकाले नै ‘मिनी टिलर’ बाँडेको भए पनि पहाडी क्षेत्रका भिराला र बाटोको सुविधा नभएका ठाउँमा ‘मिनी टिलर’ लैजान नसक्दा पाखा, छेउछाउ र भिर नजिकका जग्गा बाँझो रहन नदिन हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको उहाँले बताउनुभयो ।

यो कार्यक्रममार्फत आगामी आव विसं २०८२/८३ मा पनि रु १३ लाख विनियोजन भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । पछिल्लो कार्यकालका जनप्रतिनिधि निर्वाचित भएपछि आव विसं २०७९/८० देखि जलजलामा स्थानीय जातको गाई संरक्षण र हलगोरू पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रमले निरन्तरता पाएको छ ।

आगामी आवको बजेटमा पर्वतको पैंयू गाउँपालिकाले पनि हलगोरु पाल्ने कृषकलाई अनुदान दिनका लागि बजेट विनियोजन गरेको छ । मिनिटेलर प्रयोग गर्ने जनशक्तिको अभाव हुँदै गएपछि गाउँपालिकाहरूले परम्परागत गोरू पाल्ने प्रचलनलाई नै बढाबा दिन थालेका हुन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ