शुक्रबार, फागुन ३०, २०८१

आमाहरुको फुटबल प्रतियोगिता


म्याग्दी, १ चैतः खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह (ए)ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेकोे छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ । जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले “आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो”, उहाँले भन्नुभयो, “खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।” आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् । मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ