12/17/2025, 12:38:37
बुधबार, पुष ०२, २०८२

आईपीएलकै महँगा विदेशी खेलाडीमा ‘क्यामरुन ग्रीन’


अबुधाबी, पुस २ : अस्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रीन  इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा बिक्री हुने सबैभन्दा महँगा विदेशी खेलाडी भएका छन् । मंगलबार भएको खेलाडी लिलामीमा उनी २५ करोड २० लाख भारतीय रुपैयाँमा बिक्री भए ।

सन् २०२६ को संस्करणका लागि उनलाई कोलकाता नाइट राइडर्सले यति रकम तिरेको हो । सन् २०२४ को खेलाडी लिलामीमा मिचेल स्टार्कका लागि कोलकाताले नै २४ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चेको थियो । भारतीय रुपैया र अमेरिकी डलरबीचको मूल्य तलमाथि भइरहने हुनाले स्टार्कको मूल्य त्यति बेला बढी मान्न पनि सकिनेछ ।

ग्रिनको मूल्य २७ लाख ७० हजार डलर बराबर रहेको छ भने स्टार्कका लागि त्यतिबेला २९ लाख ८० हजार डलर तिरिएको थियो । प्रतियोगिताको इतिहासमै ग्रिन तेस्रो महँगो खेलाडी भएका छन् । त्यस अगाडि ऋषभ पन्त २७ करोड र श्रेयस अयर २६ करोड ७५ लाख भारुमा बिक्री भएका थिए ।

ग्रिनले यसअघि मुम्बई इन्डियन्स र डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुका लागि खेलिसकेका छन् । उनले आईपीएलका २९ खेलमा ७ सय ७ रन बनाइसकेका छन् । गत सिजन भने उनले चोटका कारण खेलेनन् । अहिले २६ वर्षीय ग्रिनले अस्ट्रेलियाका लागि इंग्ल्यान्डविरुद्धको एसेज सिरिजमा खेलिरहेका छन् ।