12/24/2025, 17:49:07
बुधबार, पुष ०९, २०८२

राखेपको बोर्ड बैठक : सातदोबाटोमा जेन-जी शहीद स्मृति पार्क निर्माण गरिने


काठमाडौँ, पुस ९ गते । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को एक सय २४औँ बोर्ड बैठक बुधबार सम्पन्न भएको छ ।

बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ । १०औँ राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल सङ्ख्या र खेलाडी कोटाका सम्बन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने निर्णय भएको छ ।

यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय-व्यय पास गरेको छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा जेन-जी शहीद स्मृति पार्क निर्माण गर्ने, त्यहाँ रहेको अडिटोरियम हललाई जेन-जी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णाय गरेको छ ।

बैठकले सन २०२६ मा जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ । बैठकमा परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्य सचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्य लगायतको उपस्थिति थियो ।