आइतबार, पुष २१, २०८१

परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान


काठमाडौँ, १३ मङ्सिरः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा जानुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।

भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उहाँ आज चीन जानुभएको हो । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते स्वदेश फर्कनुहुनेछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading