11/28/2025, 11:45:16
शुक्रबार, मङि्सर १२, २०८२

ह्वाइट हाउसमा भएको गोलीकाण्डमा नेशनल गार्डका एक सैनिकको मृत्यु


काठमाडौँ, मङ्सिर १२ गते। ह्वाइट हाउसबाट केही ब्लक पर भएको हालैको गोलीकाण्डमा घाइते दुई नेशनल गार्डमध्ये एकको मृत्यु भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । मृत्यु भएकी सैनिक अमेरिकी सेनाकी स्पेशलिस्ट साराह बेक्स्ट्रोम हुन् ।

राष्ट्रपति ट्रम्पले धन्यवाद दिवस (थ्याङसगिभिङ) का अवसरमा सेनाका सदस्यहरूसँग गरेको फोन कुराकानीका क्रममा बेक्स्ट्रोमको निधन भएको जानकारी दिएका थिए । “वेस्ट भर्जिनियाकी साराह बेक्स्ट्रोम एक असाधारण, सम्मानित र अद्भुत व्यक्तित्व थिइन् । उनले २०२३ जूनमा सेवा सुरु गरेकी थिइन् । अहिले उनी हामीलाई छोडेर गएको समाचार अत्यन्त दुःखद छ,”  ट्रम्पको भनाइलाई सीएनएनले उद्धृत गरेको छ ।

ट्रम्पले बेक्स्ट्रोमको मृत्युप्रति दुःख व्यक्त गर्दै भने, “उहाँ अब हामीमध्ये छैनन् । तर हामीलाई हेरिरहनुभएको छ ।”  घटनामा घाइते अर्का सैनिक २४ वर्षीय एन्ड्र्यु वोल्फ गम्भीर अवस्थामा रहेको र उसको जीवन बचाउन चिकित्सकहरू प्रयासरत रहेको पनि ट्रम्पले बताए । “उनी आफ्नो जीवनका लागि लडिरहेका छन्। हामी राम्रो समाचारको आशा गरिरहेका छौँ,”ट्रम्पले भने ।

बुधबार भएको उक्त गोलीकाण्डलाई ट्रम्पले “भयानक आक्रमण”  र “आतङ्ककारी गतिविधि”  भन्दै कडा शब्दमा निन्दा गरेका छन्। संघीय निकायहरूले यसमा अनुसन्धान जारी राखेका छन् ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै पूर्व राष्ट्रपति जो बाइडेनको आव्रजन नीतिलाई दोष दिए। उनका अनुसार २९ वर्षीय रहमानुल्लाह लकनवाल, अफगान नागरिक, सन् २०२१ मा अमेरिका प्रवेश गरेका थिए । सुरक्षा अधिकारीहरूले पनि लकनवाल अफगानिस्तानबाट आएको पुष्टि गरेका छन् र उनी एक्लैले आक्रमण गरेको विश्वास गरिएको छ ।

घटना ह्वाइट हाउसबाट केही दूरीमा रहेको क्षेत्रमा भएको हो, जसलाई अधिकारीहरूले जानाजान गरिएको हमला बताएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..