11/25/2025, 15:22:13
मङ्गलबार, मङि्सर ०९, २०८२

अफगान शरणार्थी फिर्तीले आर्थिक दबाब तीव्र, युएनडिपीको चेतावनी


काबुल, मङ्सिर ९ गते । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले अफगान जनताको आर्थिक अवस्था तथा निर्वासित आप्रवासीबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै छिमेकी राष्ट्रबाट २३ लाख अफगान एकै पटक फर्किनुले अफगानिस्तानको पुनर्निर्माण प्रयासमा गम्भीर दबाब परेको बताएको छ ।

अफगानिस्तानका लागि युएनडिपीका प्रतिनिधि स्टिफन रोड्रिक्सले वर्तमान आर्थिक झट्का, आवधिक प्राकृतिक प्रकोप र व्यापक फिर्तीबिचको सम्बन्धलाई उल्लेख गर्दै दीर्घकालीन, समन्वित र समुदाय-केन्द्रित समाधान अत्यावश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फर्कनेहरूको ठुलो सङ्ख्या अहिलेको आर्थिक अस्थिरता र प्रकोपको प्रभावसँग जोडिँदा हामीलाई स्थानीय स्तरमै जरा गाडिएका तर पर्याप्त परिमाणका समाधान अपरिहार्य हुन्छन् ।”

टोलो न्युजका अनुसार युएनडिपीका कार्यकारी निर्देशक तथा न्युयोर्कस्थित क्राइसिस ब्युरोका प्रमुख सोको नोडाले महिलालाई केन्द्रमा राखेर काम गर्नु अतिआवश्यक भएकोमा विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजो भेटिएका ती बहिनीहरूले जीवन पुनः सुरु गर्ने दृढता देखाउनुभयो । तर परिवार र समुदाय दुवै तहमा उनीहरूले बेहोर्नु परेका चुनौती पनि निकै पीडादायी छन् । जबरजस्ती विस्थापनका कारण तत्काल मानवीय राहतभन्दा पर, दीर्घकालीन लचिलोपन, जीविकोपार्जनको पुनः स्थापना र आधारभूत आवश्यकता सुनिश्चित गर्नु अत्यन्तै जरुरी हुन्छ ।”

यसैबिच, अफगानिस्तानका लागि यूरोपेली सङ्घ प्रतिनिधिमण्डलका सहयोग विभाग प्रमुख एरिक ब्युमोन्टले मुलुकका ‘वास्तविक अधिकारी’हरूले तयार गरिरहेको राष्ट्रिय विकास योजना अन्तर्राष्ट्रिय साझेदारका लागि पनि मार्गदर्शक दस्तावेज बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित जापानी राजदूतले पनि अफगान जनतालाई, विशेषतः जबरजस्ती फिर्ता गरिएका वा स्वेच्छाले फर्किएका आप्रवासीलाई निरन्तर सहयोग पुर्‍याउनेमा जापान प्रतिबद्ध रहेको बताउनुभयो ।

यसैबिच पझवोक समाचार एजेन्सीका अनुसार केवल एक दिनमै इरान र पाकिस्तानबाट १० हजार ४०५ अफगान नागरिक देश फर्किएका छन् । युएन शरणार्थी एजेन्सी (युएनएचसिआर) ले ती देशबाट फिर्ता हुनेको तीव्रताको तुलनामा मानवीय सहायता घट्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिसकेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..