मस्को, मङ्सिर ९ गते । युक्रेनमा व्याप्त युद्ध सङ्कट समाधानका लागि तयार पारिएको युरोपेली शान्ति योजनाबारे रूस सचेत रहेको जनाउँदै यसका प्रावधान “असंवैधानिक” रहेको रूसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले बताउनुभएको छ ।
शान्ति योजनाका बारेमा धेरै अनुमान तथा प्रयास भए पनि रूसले संयुक्त राज्य अमेरिकाबाट सिधैँ प्राप्त शान्ति योजना र जानकारीलाई मात्र विश्वास गर्ने उहाँले बताउनुभएको छ । यसै क्रममा अलास्कामा छलफल गरिएका योजनाका अधिकांश प्रावधान मस्कोका लागि स्वीकार्य रहेको उशाकोभले जनाउनुभएको छ ।
रूसी मिडियाका अनुसार, “युरोपेली योजना”ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको २८-बुँदे शान्ति योजनामा धेरै संशोधन प्रस्तावहरु छन् । जसमा युक्रेनी सशस्त्र सेना वा रक्षा उद्योगको आकारमा कुनै प्रतिबन्ध नलगाउनु भनी उल्लेख गरिएको छ । यद्यपि अमेरिकी प्रस्तावमा युक्रेनी सशस्त्र सेनाको आकार सानो बनाई छ लाखमा सीमित गर्नुपर्ने सर्त रहेको जनाइएको छ ।
आइतबार जेनेभामा आयोजित संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली सङ्घ (इयु) का प्रतिनिधि बिचको परामर्शपछि प्रारम्भिक मस्यौदा योजना २८ बुँदाबाट घटेर १९ बुँदामा झरेको मिडिया रिपोर्टले जनाएका छन् । उसाकोभले शान्ति योजनाको विवरणबारे छलफल गर्न अमेरिकाले चाँडै रूससँग सम्पर्क गर्ने पनि बताउनुभएको छ । यद्यपि विशेष व्यवस्था भने अझै निर्धारण हुन सकेको छैन ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















