पेरिस, कात्तिक २६ : हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबिचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ ।
फ्रान्सस्थित सङ्गीत स्ट्रिमिङ प्लेटफर्म डिजरका लागि पोलिङ फर्म इप्सोसले गरेको अध्ययनमा करिब नौ हजार सहभागीलाई एआईले पूर्णरूपमा उत्पन्न गरेको दुई वटा सङ्गीत क्लिप र मानवद्वारा सिर्जना गरिएको एउटा क्लिप सुन्न आग्रह गरिएको थियो । नतिजा अनुसार, “सर्वेक्षणमा सहभागी ९७ प्रतिशत व्यक्तिले एआई-निर्मित र मानव-निर्मित सङ्गीतबिचको स्पष्ट भिन्नता छुट्याउन सकेनन्”, डिजरले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
सर्वेक्षण अक्टोबर ६ देखि १० सम्म ब्राजिल, बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, जापान, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिकामा सञ्चालन गरिएको थियो । डिजरका अनुसार आधाभन्दा बढी सहभागीले फरक छुट्याउन नसक्दा आफूलाई ‘असहज’महसुस गरेको बताएका थिए । अध्ययनका क्रममा एआई प्रविधिको व्यापक प्रभावबारे पनि प्रश्न सोधिएको थियो ।
करिब ५१ प्रतिशत उत्तरदाताले एआईका कारण स्ट्रिमिङ प्लेटफर्ममा ‘कम गुणस्तरको सङ्गीत’ बढ्ने विश्वास व्यक्त गरे भने झण्डै दुई तिहाइले यसले ‘सङ्गीतमा मौलिक रचनात्मकता घटाउने जोखिम’ रहेको धारणा राखे । डिजरका प्रमुख कार्यकारी अधिकृत एलेक्सिस ल्यान्टर्नियरले विज्ञप्तिमा भन्नुभयो, “यो सर्वेक्षणले श्रोता समुदायले सङ्गीतप्रति गहिरो चासो राख्छन् भन्ने स्पष्ट रूपमा देखाउँछ । उनीहरू एआईले बनाएको वा मानिसले सिर्जना गरेको ट्र्याक सुन्दै छन् भनेर थाहा पाउन चाहन्छन् ।”
कम्पनीका अनुसार पछिल्ला महिनामा यसको प्लेटफर्ममा एआई-निर्मित सामग्रीको अपलोड दर तीव्र गतिमा बढिरहेको छ र यस्ता गीतले ठुलो सङ्ख्यामा श्रोता पनि पाएका छन् । सन् २०२५ को जनवरीमा प्रत्येक दिन स्ट्रिम गरिएका १० मध्ये केवल एउटा ट्र्याक एआई-निर्मित थियो, तर दश महिनापछि त्यो अनुपात बढेर तीनमध्ये एक अर्थात् दैनिक झण्डै ४० हजार एआई गीतसम्म पुगेको छ ।
सर्वेक्षणमा सहभागी ८० प्रतिशत उत्तरदाताले एआई-निर्मित सङ्गीतलाई स्पष्टरूपमा चिह्न लगाएर प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । डिजर हालसम्मको एक मात्र प्रमुख स्ट्रिमिङ प्लेटफर्म हो जसले आफ्ना प्रयोगकर्ताका लागि पूर्णरूपमा एआई-निर्मित सामग्रीलाई व्यवस्थितरूपमा लेबल गर्दै आएको छ । यस वर्षको जुन महिनामा द भेलभेट सनडाउन नामक एउटा ब्यान्डको गीत स्पोटिफाइमा भाइरल भएपछि यो विषयले थप चर्चा पाएको थियो ।
पछि मात्र त्यो गीत वास्तवमा एआई-निर्मित भएको पुष्टि भएको थियो । सो ब्यान्डको सबैभन्दा चर्चित गीत ३० लाखभन्दा बढी पटक स्ट्रिम गरिएको छ । यस घटनापछि स्पोटिफाइले कलाकार र प्रकाशकलाई सङ्गीत निर्माणमा एआई प्रयोगबारे स्पष्ट खुलासा गर्न प्रोत्साहित गर्ने ‘स्वैच्छिक उद्योग आचारसंहिता’ मा हस्ताक्षर गर्न आग्रह गर्ने घोषणा गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











