12/28/2025, 19:46:20
आइतबार, पुष १३, २०८२

त्रिविमा शिक्षाशास्त्र संकायको प्रश्नपत्र गतवर्षको हुबहु


काठमाडौँ, पुस १३ : त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकाय स्नातकोत्तर तहको शिक्षा तथा विकास विषयको प्रश्नपत्र गतवर्षको प्रश्नपत्रसँग हुबहु दोहोरिएको पाइएको छ । प्रश्नपत्र तयार पार्ने अध्यापक, विषय समिति र डिन कार्यालयको लापरबाहीले प्रश्नपत्र दोहोरिएको विद्यार्थीले गुनासो गरेका छन् ।

शिक्षा तथा विकास विषयको कोड नम्बर ५३३ को प्रश्नपत्र गतवर्ष (२०८१) सँग अधिकांश प्रश्न हुबहु रहेको छ । ‘अघिल्लो वर्षका प्रश्नहरु तलमाथि पारेर झुक्याउने काम भएको छ,’ एक विद्यार्थीले भने । अघिल्ला वर्षहरुमा पनि प्रश्नपत्र दोहोरिएको भन्दै त्रिविको आलोचना हुँदै आएको थियो ।

त्रिविले छानबिन समिति गठन गरी दोषीलाई सचेत गराएर पनि प्रश्नपत्र हुबहु दोहोरिने क्रम भने रोकिएको छैन । प्रश्नपत्र दोहोरिएको विषयमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समेत उजुरी परेको थियो । समितिले छानबिन गरी कानुनी दायरामा ल्याउन त्रिविलाई निर्देशनसमेत दिएको थियो ।

शिक्षाशास्त्र संकायका डिन बेदराज आचार्यले प्रश्नपत्र दोहोरिएको भेटिएपछि सम्बन्धित शिक्षक, विषयगत समिति र सहायक डिनलाई मौखिक रुपमा सचेत गरिएको बताए । ‘केही प्रश्नहरु गतवर्षको प्रश्नसँग मिलेको देखियो,’ उनले भने, ‘किन त्यस्तो भयो भनेर सोधेको छु ।

गत साता भएको परीक्षामा ८ वटा प्रश्नमध्ये कम्तीमा ५ भन्दा बढी प्रश्न अघिल्लो वर्षको प्रश्नसँग हुबहु मिलेको ती विषयका शिक्षकहरुले बताए । केही प्रश्नहरु मिलेपछि हुबहु दोहोरिने प्रवृत्ति रोक्न निर्देशन दिएको डिन आचार्यले बताए ।