काठमाडौँ, पुस १२ गते । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।
हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिको १६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेलले दरबारका भित्री चोक तथा सङ्ग्रहालयको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्य समितिको रहेको बताउनुभयो ।
समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सङ्ग्रहालयका भवनहरूलाई मौलिक स्वरूपमै संरक्षण गर्दै २०७२ सालको भूकम्पपछि क्षति भएका संरचनाको पुन:संरचना गरी सञ्चालन गर्नु आजको प्रमुख चुनौती रहेको बताउनुभयो । इतिहासको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङले हनुमान ढोका दरबार सङ्ग्र्रहालयलाई जीवन्त राख्न सरकार, विकास समिति र अन्य सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्रको अभिन्न अङ्गका रूपमा रहेको हनुमान ढोका दरबार सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा ऐतिहासिक महत्वका कारण सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । लिच्छिवीकालमा ‘दक्षिणकोलीय ग्राम’ का रूपमा परिचित यो स्थल मध्यकालको उत्तरार्धमा मल्ल राजाहरूको शासनकालमा महत्वपूर्ण केन्द्रका रूपमा विकसित भएको इतिहास छ ।

स्थापना दिवसका अवसरमा समितिले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानसमेत गरेको थियो । सम्मानित हुनेमा तलेजु मन्दिरका मूल पुजारी उद्धव कर्माचार्य, खरिदार रामशरण भारती, कार्यालय सहयोगी लक्ष्मीकुमारी डङ्गोल र रमिला देउला रहेका छन् ।

कार्यक्रमका अवसरमा सङ्ग्रहालय सम्बन्धी फोटो प्रदर्शनीसमेत आयोजना गरिएको थियो। हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिको स्थापना विक्रम संवत् २०६७ पुस १२ गते भएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












