12/27/2025, 12:30:43
शनिबार, पुष १२, २०८२

हवाई यात्रु चार्टर उडानको भाडा तीर्न बाध्य


हुम्ला, पुस १२ गते । हुम्लाबाट नेपालगञ्ज झर्ने हवाई यात्रुहरु यतिबेला चार्टर उडानको भाडा तीर्न बाध्य हुँदै आउनुभएको छ । जाडोका कारण नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थल जाने यात्रु नहुने र भए पनि कम हुने भएका कारण नीजि एयरलाइन्सहरुले चार्टर उडानको भाडा लिने गर्दै आएका हुन् ।

सिमकोटबाट नेपालगञ्ज जान लाग्नुभएको सिमकोट गाउँपालिका– ५ का स्थानीय जसमति रोकायाले सिमकोट विमानस्थलमा हवाई यात्रुहरुले चार्टर उडानको भाडा तीर्नु परेको बताउनुभयो । नीजि एयरलाइन्सहरुले हाल सिमकोटबाट नेपालगञ्जका लागि चार्टर उडानको भाडादर १३ हजार ८३० रुपियाँ लिदै आएका छन् । जब कि यसअघि सेडुअल उडानमा तीनै जहाजहरुले आठ हजार ९०३ रुपियाँ लिदै आएका थिए ।

यसरी चार्टर उडान हुन थालेपछि महङ्गो भाडा तिरेर हवाई यात्रा गर्नुपरेको यात्रुहरुको गुनासो छ ।

हाल दैनिक रुपमा उडान भर्ने सबै निजी एयरलाइन्सहरुले चार्टर उडानको भाडा लिने गर्दै आएका छन् । यसरी चार्टर उडान भर्नुपर्ने बाध्यता एयरलाइन्सहरुलाई रहेको समिट एयर सिमकोटका प्रमुख गोविन्द लामाले बताउनुभयो ।

नेपालगञ्जबाट तीन चार जना यात्रु बोकेर सिमकोटका लागि उडान भर्नुपर्ने भएका कारण एयरलाइन्सहरुले आफ्नो खर्च व्यवस्था गर्नका लागि चार्टर उडान भर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । सेडुअल उडानमा एयरलाइन्सहरुले उडान भर्दा घाटामा सेवा प्रदान गर्नुपर्ने भएका कारण चार्टर उडानको भाडा लिनुपर्ने बाध्यता आफुलाई रहेको उहाँले बताउनुभयो ।

यदी नेपालगञ्जबाट सिमकोट जाने हवाई यात्रु पूरै सिट भरिने गरी हुने हो भने सिमकोटबाट नेपालगञ्जका लागि सेडुअल उडानमा उडान भर्न नकिने अवस्था आउन सक्ने उहाँले बताउनुभयो । हाल नेपालगञ्जबाट सिमकोटका लागि समिट, सीता र तारा एयरका जहाजहरुले उडान भर्ने गरेका छन् । पुस महिना सुरु भएसँगै नेपालगञ्जमा हुस्सु लाग्न सुरु भएका कारण उडान पनि ढिलो गरी हुन थालेका छन् ।

यता हप्तामा तीन उडान भर्दै आएको नेपाल एयरलाइन्सले भने सेडुअल उडानको भाडा लिने गर्दै आएको छ । नेपालगञ्जमा हुस्सु लाग्न सुरु भएपछि नेपाल एयरलाइन्सका उडान पनि प्रभावित हुने गरेका छन् । जाडो बढेपछि सिमकोटबाट नेपालगञ्ज झर्ने यात्रुहरुको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको छ ।