01/29/2026, 23:59:58
बिहिबार, माघ १५, २०८२

मार्चदेखि काठमाडौँ-सिंगापुर उडानमा वाइडबडी विमान सञ्चालन हुने


काठमाडौँ, माघ १५ : सिंगापुर एयरलाइन्सले यात्रु चापलाई लक्षित गर्दै मार्च र अप्रिल २०२६ मा सिंगापुर–काठमाडौँ रुटमा वाइडबडी विमान सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार सातामा दुई उडान वाइडबडी विमानमार्फत सञ्चालन हुनेछ ।

आगामी मार्च र अप्रिलमा यात्रुको चाप बढ्ने भएकाले उडान क्षमता विस्तार गर्न वाइडबडी विमान प्रयोग गर्न लागिएको सिंगापुर एयरलाइन्स नेपालले जनाएको छ। उक्त विमान हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने सिट क्षमताका आधारमा सबैभन्दा ठूलो विमान हो।

वाइडबडी विमानमा कुल ३३७ सिट उपलब्ध रहनेछन्, जसमध्ये ३६ वटा बिजनेस क्लास र ३०१ वटा इकोनोमी क्लासका सिट रहेका छन्। बिजनेस क्लासका सिटहरू ७६ इन्च लामो पूर्ण रूपमा समथर हुने बेडमा परिवर्तन गर्न सकिने छन् भने सबै सिटमा सिधै आइज्ल (गलियारा) पहुँच उपलब्ध छ।

इकोनोमी क्लासमा एर्गोनोमिक रूपमा डिजाइन गरिएका सिट, छ–तर्फी समायोजन गर्न मिल्ने हेडरेस्ट तथा घाँटीलाई राम्रो समर्थन दिने संरचना रहेको छ।

यात्रुहरूले सिंगापुर एयरलाइन्सको इन–फ्लाइट मनोरञ्जन प्रणाली ‘क्रिसवर्ल्ड’ मार्फत १९ सयभन्दा बढी चलचित्र, टिभी कार्यक्रम, संगीत एल्बम तथा खेलहरूको सुविधा पाउनेछन्। यस प्रणालीमा व्यक्तिगत प्लेलिस्ट बनाउने, सामग्री सेभ गरी अर्को उडानमा निरन्तर हेर्ने तथा यात्रुको रुचिअनुसार सिफारिस प्राप्त गर्ने सुविधा पनि समावेश छ।

उक्त विमानमा असीमित निःशुल्क वाईफाई सेवा उपलब्ध रहनेछ। बिजनेस क्लास यात्रु, पीपीएस क्लब सदस्य तथा पूरक कार्डधारकले स्वतः असीमित वाइ–फाइ प्रयोग गर्न सक्नेछन्। इकोनोमी क्लास यात्रुले भने निःशुल्क वाइ–फाइ प्रयोग गर्न ‘क्रिसफ्लायर’ सदस्य हुनुपर्नेछ, जसको सदस्यता निशुल्क छ।

सिंगापुर एयरलाइन्सका अनुसार मार्च र अप्रिल महिनामा विदेशमा बसोबास गर्ने नेपाली स्वदेश फर्किने तथा नेपालबाट विदेश यात्रा गर्ने यात्रुको संख्या बढ्ने अपेक्षा गरिएको छ। साथै, यही समयमा नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकको आगमन पनि उल्लेख्य रहने कम्पनीको विश्वास छ।

वाइडबडी विमानमार्फत सञ्चालन हुने सिंगापुर–काठमाडौँ उडान बुधबार र शुक्रबार हुनेछ। सिंगापुरबाट काठमाडौँतर्फको उडान साँझ ६:५५ बजे प्रस्थान गरी राति ९:४० बजे काठमाडौँ आइपुग्नेछ। काठमाडौँबाट सिंगापुरतर्फको उडान राति ११:०५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान ६:१५ बजे सिंगापुर पुग्ने तालिका रहेको छ।

सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार-सिंगापुर–काठमाडौँ उडान भने सिंगल–आइसल विमानमार्फत यथावत् सञ्चालन हुने जनाइएको छ।