हेटौँडा, पुस १२ गते । हेटौँडा उपमहानगरपालिका–१० अन्तर्गत बसपार्क टीसीएन क्षेत्रमा निर्माण गरिएको टोनी हेगन पार्क पछिल्लो समय रमणीय तथा आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
हेटौँडा आउने आगन्तुकका लागि पार्क विश्राम तथा समय बिताउने स्थान बनेको छ । बसपार्कसँगै सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै रहेको पार्कमा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि पनि विश्रामस्थल बनेको छ ।
पहिले खाली जमिन रहेको क्षेत्रमा निर्माण गरिएको पार्कले सहरको सौन्दर्य थप्नुका साथै हरियाली प्रवर्द्धनमा समेत योगदान पुर्यायको छ । स्विट्जरल्याण्डका नागरिक तथा हेटौँडा सहरका परिकल्पनाकार डा.टोनी हेगनको नाममा करिब डेढ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस पार्क घुमफिर, थकाइ मार्ने र फुर्सदको समय बिताउने स्थानका रूपमा लोकप्रिय बन्दै गएको छ ।
शान्त वातावरण, फूलबारी, हरियाली र व्यवस्थित विश्रामस्थलले यहाँ पुग्ने आगन्तुकको मन लोभ्याउने गरेको छ । पार्कभित्र डा.हेगनको अर्धकदको सालिकसमेत निर्माण गरिएको छ ।बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका पर्यटकीय गन्तव्यमध्ये टोनी हेगन पार्क पनि एक महत्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ ।
डा.टोनी हेगन विश्वप्रसिद्ध भूगर्भविद् हुनुहुन्थ्यो । नेपालप्रति पुर्याउनुभएको योगदानको कदरस्वरूप तत्कालीन राजा वीरेन्द्रले उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गर्नुभएको थियो । सन् १९१७ मा जन्मिएका हेगनको सन् २००३ मा निधन भएको हो ।नेपाल–स्विस परियोजनासँग आबद्ध रही उहाँले नेपालको भूगोल, समाज र सम्भावनाबारे गहिरो अध्ययन गर्नुभएको थियो ।
सन् १९५० मा विकास विज्ञका रूपमा नेपाल आउनुभएका हेगन वि।सं। २०१४ तिर हेटौँडा आइपुगेको मानिन्छ । भारतबाट पैदलै नेपाल प्रवेश गर्दै चुरियामाई क्षेत्र हुँदै हेटौँडा झरेका उहाँले सालको रूख भएको स्थानमा मानव बस्ती बस्न सक्ने धारणा अघि सार्दै आधुनिक हेटौँडाको परिकल्पना गर्नुभएको थियो ।
– अनिल पराजुली
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












