12/27/2025, 14:51:08
शनिबार, पुष १२, २०८२

सातामा ११ हजार रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ, पुस १२ : यो साता सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । तोलामै सुन ११ हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिकी डलर सूचकांक केही माथि जानु, भूराजनीतिक तनाव यथावत् रहनु, नयाँ वर्ष निकट रहनु लगायत विषयले अन्तर्राष्ट्रिय बजारमा सुनप्रति आकर्षण बढेपछि मूल्य पनि वृद्धि भएको जानकार बताउँछन् । आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो । बुधबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगे पनि बिहीबार घटेको थियो ।

बिहीबार प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड कायम गरेको हो । शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्यले पनि यो साता कीर्तिमान कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला चाँदीको ४ हजार १ सय ५ रुपैयाँ कायम रहेकामा एकपछि अर्को रेकर्ड ब्रेक गर्दै बुधबार प्रतितोला चाँदीको मूल्य ४ हजार ४ सय २० रुपैयाँ कायम रह्यो । बिहीबार केही घटेर प्रतितोला चाँदीको ४ हजार ४ सय रुपैयाँ भएकामा शुक्रबार पुनः ऐतिहासिक रेकर्ड बनाउँदै प्रतितोला चाँदीको ४ हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ ।

चाँदी प्रतितोला ४६० रुपैयाँ बढी रहेको महासंघले जनाएको छ । निर्माण र औद्योगिक क्षेत्रमा विद्युतीय सामग्री एवं विद्युतीय सवारीको माग बढ्नु, माग अनुसार आपूर्ति हुन नसक्दा चाँदीको मूल्य बढेको महासंघका महासचिव किरणभाइ बज्राचार्यले बताए ।

नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ । बलियो सट्टेबाजी गतिविधि (स्पेकुलेटिभ मोमेन्टम) र बढ्दो भू–राजनीतिक तनावबीच अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षाले बहुमूल्य धातुहरू उकालो लागेको रोयटर्समा उल्लेख छ । शुक्रबार सुन प्रतिऔंस ४५०१.४४ अमेरिकी डलरमा कायम भएको छ ।

आर्थिक तथा भू–राजनीतिक अनिश्चितताका कारण बहुमूल्य धातुसँगै औद्योगिक धातुहरूको मूल्यले पनि कीर्तिमानी कायम गरेको रोयटर्समा उल्लेख छ । चाँदी पहिलो पटक प्रतिऔंस ७५ अमेरिकी डलरको सीमा पार गरेको रोयटर्समा छ । इन्टरनेट आधारित फरेक्स कारोबार तथा मुद्रासम्बन्धी सूचना दिने ओएएनडीएका वरिष्ठ बजार विश्लेषक केल्भिन वङले भने, ‘डिसेम्बरको सुरुदेखि नै सुन र चाँदीको मूल्यवृद्धिलाई मोमेन्टम आधारित र सट्टेबाजी गर्ने लगानीकर्ताहरूले अगाडि बढाइरहेका छन् । वर्ष अन्त्यको तरलता, अमेरिकी ब्याजदर दीर्घकालसम्म घट्ने अपेक्षा, कमजोर डलर र भू–राजनीतिक जोखिमका कारण बहुमूल्य धातुहरूको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सन् २०२६ को पहिलो ६ महिनासम्म सुनको मूल्य ५ हजार डलरको तहसम्म पुग्न सक्ने सम्भावना रहेको वङले बताए । चाँदी करिब ९० डलरसम्म उक्लिन सक्ने उनको विश्लेषण छ । व्यापारीहरूले आगामी वर्ष दुई पटक अमेरिकी ब्याजदर कटौती हुने मूल्यांकन गरिरहेकाले कम ब्याजदरको वातावरणमा ब्याज नदिने सम्पत्ति सुनको बलियो समर्थनमा रहने अपेक्षा गरिएको छ ।

भू–राजनीतिक जोखिमले पनि बजारमा चिन्ता थपेको छ । अमेरिकाले आगामी दुई महिनाभित्र भेनेजुएलाको तेलमाथि ‘क्वारेन्टाइन’ कडाइका साथ कार्यान्वयन गर्ने तयारी गरिरहेको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकुविरुद्ध आक्रमण पनि गरेको छ । ती कारबाही इसाई समुदायमाथि भएका आक्रमणपछि गरिएको बताइएको समेत टाइम्स अफ इन्डियामा उल्लेख छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै १५ अर्ब ७२ करोड रुपैयाँको सुन आयात भएको छ । उक्त आयातबाट १ अर्ब ५७ करोड रुपैयाँ राजस्व उठेको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४ करोड २ लाख रुपैयाँको सुन आयात भएको थियो । उक्त सुन आयातबाट ३४ करोड ७९ लाख रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षभर १७ अर्ब १२ करोड रुपैयाँको सुन आयात भएको थियो ।