12/14/2025, 15:05:02
आइतबार, मङि्सर २८, २०८२

लयमा फर्कंदै पर्यटन क्षेत्र

पोखरामा करिब एक हजार दुई सय पर्यटकीयस्तरका होटेल सञ्चालनमा छन्, जसमा सात सय वटा लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन् । एक रातमा करिब ४० हजार पाहुना राख्न सक्ने क्षमता पोखराका होटेलमा रहेको छ ।


कास्की, मङ्सिर २८ : नोभेम्बरमा नेपालमा एक लाख १६ हजार विदेशी पर्यटक घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार नेपालमा भारतीय पर्यटकसँगै युरोपेली पर्यटकको आगमन पनि बढ्दो छ । यससँगै जेन-जी आन्दोलनपछि खस्किएको पर्यटन क्षेत्रले लय समाउन थालेको व्यवसायी बताउँछन् ।

जेन-जी आन्दोलनको प्रभावले आउने तयारीमा रहेका पर्यटक रोकिएका थिए भने आइसकेका पर्यटकले बसाइ अवधि छोट्याएर धमाधम फर्किएका थिए । व्यवसायीका अनुसार त्योबेला आइसकेको बुकिङको करिब ९० प्रतिशत बुकिङ आन्दोलनको प्रभावले रद्द भएको थियो, जसको प्रभावस्वरूप पर्यटन क्षेत्र सुनसान नै बनेको थियो । अहिले बिस्तारै सुधारोन्मुख अवस्था रहेको पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।

जेन-जी आन्दोलनपछि भारतीयको आगमनमा भने अझै सोचे जस्तो सुधार हुन नसकेको उहाँको भनाइ छ । नोभेम्बरमा नेपालमा जम्मा १८ हजार ९९५ जना भारतीय पाहुना आए । बोर्डका अनुसार गत अगस्तमा नेपालमा हवाईमार्गबाट भित्रिने भारतीयको सङ्ख्या ३५ हजार ५०५ थियो । सेप्टेम्बरमा त्यो आगमन खस्केर १५ हजार ५५६ मा झरेको थियो । भारतीय पर्यटकको आगमनमा कमी आए पनि युरोपेली पर्यटकको आगमनले पर्यटनलाई क्षेत्रमा आशा दिलाएको लामिछानेले बताउनुभयो । आन्दोलनपछि पनि छिट्टै नै पर्यटन आगमनमा सुधार आएको उहाँको भनाइ थियो ।

होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पनि पर्यटनको आगमन राम्रै भएका कारण होटेलको अकुपेन्सी ३५ प्रतिशत रहेको जानकारी दिनुभयो । “होटेल अकुपेन्सी पनि घटबढ भइरहन्छ । यतिखेर स्कुलका विद्यार्थी भ्रमण आउने गरेका छन् । कतिपय दिनभर डुलेर साँझ स्कुल बसमा घर फर्कने पनि छन् । यसो हेर्दा पर्यटकको सङ्ख्या बाक्लो देखिए पनि होटेलमा बस्ने कमै हुन्छन्,” उहाँले भन्नुभयो ।

पोखरामा पर्यटनको आगमनसँगै विभिन्न होटेलमा लगानी पनि भइरहेको उहाँले बताउनुभयो । अध्यक्ष सुवेदीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल करिब आठ खर्ब रुपियाँ बराबरको लगानी भएको छ । सो मध्ये करिब छ खर्ब रुपियाँ होटेल व्यवसायमै लगानी भएको छ भने प्रत्यक्ष रूपमा करिब १५ हजार व्यक्ति यस क्षेत्रको रोजगारीमा आश्रित छन् । पोखरामा करिब एक हजार दुई सय पर्यटकीयस्तरका होटेल सञ्चालनमा छन्, जसमा सात सय वटा लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन् । एक रातमा करिब ४० हजार पाहुना राख्न सक्ने क्षमता पोखराका होटेलमा रहेको छ ।

– सन्तोष सुवेदी